हेटौंडाः निर्वाचनको निष्पक्ष मिडिया कभरेज सम्बन्धी कार्यशाला गोष्ठी बुधबार हेटौंडामा सम्पन्न भएको छ । गोष्ठीमा मकवानपुर र चितवनका २० जना पत्रकारको सहभागिता रहेको थियो ।
मिडिया एक्शन नेपालको आयोजनामा क्यानाडा कोषको सहकार्यमा गोष्ठी भएको हो । कार्यक्रममा मिडिया एक्शन नेपालका सचिव गणेश प्रसाद घिमिरेले कार्यक्रमको परिचय र उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । आगामी निर्वाचनलाई लक्षित गरेर निर्वाचनमा पत्रकारका लागि व्यावसायिक मापदण्ड र आचारसंहिता, निर्वाचनको निष्पक्ष मिडिया कभरेजको लागि चुनावमा मिडियाको भूमिकाका बारेमा मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले जानकारी गराउनुभयोे ।
यस्तै, मानव अधिकार विशेषज्ञ श्री अधिकारीले मानव अधिकारका रिपोर्टिङमा मिडियाको दृष्टिकोणका बारेमा बताउनुभएको थियो । पत्रकारले घृणायुक्त भाषणको विरुद्धमा कसरी समाचार लेख्ने र समावेशी मिडिया सामग्रीको विषयमा मिडिया एक्शन नेपालकी उपाध्यक्ष प्रियंका झाले बताउनुभएको छ ।