कुनै पनि राम्रो वा असललाई प्रोत्साहन गर्न प्रयोग गरिने शब्द शुभकामना हो । शुभकामनाको शाब्दिक अर्थ जे भए पनि कुनै व्यक्तिको उन्नति, प्रगतिको कामना गर्नु नै शुभकामना हो । शुभकामनाले व्यक्तिलाई आफ्नो कार्यकुशलता अझ वृद्धि गर्न वा उन्नति, प्रगतिको पथमा थप प्रतिबद्ध भएर लाग्न र अझ राम्रो गर्न हौसला मिल्दछ । हाम्रो नेपाली समाजमा शुभकामना शब्दको प्रयोग व्यापक बनिरहेको छ । बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा शुभकामना दिनुपर्ने सन्दर्भ दिनहुँ भेटिन्छ । हरेक दिन कुनै न कुनै चाडपर्व, दिवस, जन्मोत्सव, वार्षिकोत्सव हुने भएकाले शुभकामना व्यक्त गर्ने सन्दर्भ बन्दछन् । कसैले विशेष सफलता हासिल गरेको वा कुनै उल्लेख्य काम गरेको अवस्थामा पनि शुभकामना दिइन्छ ।
नेपालीको घरआँगनमा दशैं आइसकेको छ । हामी नेपालीहरुको मुख्य पर्व दशैं–तिहारको समयमा शुभकामनाको बाढी नै आउने गर्दछ । दशैंसँगै आउने दीपावली (तिहार), नेपाल सम्बत्, छठजस्ता महत्वपूर्ण चाडपर्वको शुभकामना आदानप्रदान गर्ने औपचारिक र अनौपचारिक क्रम चलिरहेको छ । विगतमा जस्तै यसपटक पनि विभिन्न किसिमबाट शुभकामना आदानप्रदान भइरहेको छ । राजनीतिक दल, धार्मिक–सामाजिक संघसंस्था, व्यावसायिक प्रतिष्ठान, शैक्षिक संस्था तथा सरकारी कार्यालहरुले समेत शुभकामना आदानप्रदानका औपचारिक कार्यक्रम गरिरहेका छन् । विगतमा प्रत्यक्ष भेटघाट गरेर, शुभकामना कार्ड दिएर, हुलाकमार्फत् पत्र पठाएर एवम् टेलिफोन गरेरमात्र शुभकामना आदानप्रदान हुन्थ्यो । इन्टरनेटको विकासँगै व्यापक बनेको सामाजिक सञ्जाल अहिले शुभकामना दिने प्रचलित माध्यम बनेका छन् । भर्चुअलरुपमा दिइने यस्ता शुभकामनाको प्रभाव व्यापक हुने र धेरैले कुनै अवसर वा असल कामको बारेमा थाहा पाउने भएकाले प्रभावकारी पनि बनिरहेको छ ।
हामी नेपालीहरु अत्यन्त निरीह बनेर शुभकामना आदानप्रदान गरिरहेका छौं । विशेषगरी ठूला चाडपर्व वा कुनै दिवसमा दिइने शुभकामना केवल व्यक्त गर्ने शब्द बन्दैछ । हामीले दिएको वा पाएको शुभकामना कामयावी होस् वा नहोस्, हामीलाई कुनै मतलब छैन । हामी प्रत्यक्ष भेटघाट, टेलिफोन, म्यासेज वा सामाजिक सञ्जालबाट शुभकामना दिइरहेका हुन्छौं । हामीलाई लाग्छ, हामी कल्पवृक्ष हौं, जे चिताए पनि पुगिहाल्ने । आफूले दिएको वा पाएको शुभकामनासँगै व्यक्त भएका शब्दहरुको उपादेयता तथा सार्थकताका बारेमा हामी किञ्चित सोच्दैनौं । सकेसम्म राम्रा र धेरै शब्द प्रयोग गर्दै हामी साना–तिना अवसर वा उपलब्धिलाई पनि निकै ठूलो बनाउँदै शुभकामनाको वर्षा गरिदिन्छौं । हामीलाई शुभकामना दिनलाई कुनै समस्या पनि छैन । हातहातमा मोबाइल छँदैछ, इन्टरनेटको पहुँच सर्वत्र पुगेको छ । केही शब्द टाइप ग¥यो, २÷४ वटा फोटाहरु मिलायो, सामाजिक सञ्जालमा पोष्ट्यायो, शुभकामना दिने काम सम्पन्न भइहाल्छ ।
दशैं–तिहार आदि चाडपर्व सबै नेपालीको घरपरिवारमा खुशी ल्याउने माध्यम बन्नुपर्छ । तर, सबै चाडपर्वले सधैं सबैलाई एकनाश खुशी तुल्याउन सक्दैन । अनि हामी नेपाली के खुशी, के हाँसो, के पीडा, के दुःख भन्ने कुराको संवेदना नै नभएजस्तो बन्दैछौं । कतिबेला खुशी व्यक्त गर्ने, कतिबेला दुःख व्यक्त गर्ने भन्ने कुरामा हामी सचेत छैनौंजस्तो लाग्छ । दशैं–तिहारजस्ता चाडपर्वमा आफ्नो सम्पत्ति/आम्दानी सिध्याएर, ऋण बोकेर, राज्यकोष रित्याएर दशैंको खुशी मनाउनुको सार्थकता कति होला ? हामीले गम्भीर भएर सोच्नु आवश्यक छ । जस्तो शासन व्यवस्था ल्याए पनि देश र जनताको विकास नहुने, कोभिड, डेंगुजस्ता महामारीको चपेटामा पर्नुपर्ने, घरको भान्सा दिनहुँ महंगो हुँदै गइरहेको अवस्थामा हामीले आदानप्रदान गर्ने शुभकामनालाई सार्थक बनाउँदै हामीले मनाउने दशैंले सबै नेपालीलाई खुशी बनाउन सक्नुपर्छ ।