हेटौंडाः देशभर देखिएको डेंगु प्रकोपले महामारीको रुप लिन थालेको छ । बागमती प्रदेशको मकवानपुर जिल्लामा डेंगु संक्रमणको संख्या बढेको छ । दैनिकजसो एक सयदेखि बढी जनामा डेगु संंक्रमण हुने गरेको छ ।
संक्रमण बढेसँगै अहिले हरेक अस्पताल डेंगुका बिरामीले भरिएको डाक्टरको भनाइ छ । हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटाले दैनिकरुपमा डेंगुका बिरामी बढ्ने गरेको बताउनुभएको छ । डेंगु रोगले महामारीको रुप लिँदै गएको बताउँदै डा. सापकोटाले डेंगुबाट बच्न आफैं सचेत रहन आग्रह गर्नुभएको छ । हेटौंडा अस्पतालमा डेंगुका बिरामी बढेको उहाँको भनाइ छ ।
अस्पतालमा दैनिकजसो ८० देखि एक सय जनाको हाराहारीमा डेंगु परीक्षण गर्न आउने गरेको अस्पतालका मेसु डा. सापकोटाले बताउनुभयो । हेटौंडा अस्पतालमा डेंगु परीक्षण गर्न आउने आम नागरिकलाई सहजरुपमा सेवा दिइएको बताउँदै उहाँले अहिले अस्पतालमा डेंगु परीक्षण गर्ने किट पर्याप्त भएको जानकारी दिनुभयो । डेंगुले महामारीको रुप लिन थालेपछि आम नागरिकले पनि अहिले डेंगुलाई गम्भीररुपमा लिने गरेको डा. सापकोटाको भनाइ छ ।
डेंगु संक्रमण लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकोले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने डाक्टरहरुको सुझाव छ । डेंगु एडिस जातिको एजिप्टाई र अल्बोपिक्टस पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने रोग हो । यो भाइरसको संक्रमण हुँदा ज्वरो आउने, शरीरमा डाबर देखापर्ने, बान्ता हुने, जिउ सुन्निने र टाउको तथा पूरै जीउ दुख्ने गर्छ ।
यस्तै, मकवानपुरमा पछिल्लो २४ घण्टामा १ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हालसम्म मकवानपुरमा २ हजार ६ सय ९१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले डेंगु संक्रमितहरुको संख्या सार्वजनिक गर्दै हालसम्म २ हजार ६ सय ९१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा २ हजार ४ सय १६ जनामा डेंगु संक्रमण देखिएको छ । जसमा एक हजार ३ सय ५२ जना पुरुष र एक हजार ६४ जना महिला संक्रमित भएका थिए । हालसम्म मकवानपुरको भीमफेदी गाउँपालिकामा २६ जना र मनहरी गाउँपालिकामा एक सय १५ जनालाई डेंगु संक्रमण देखिएको छ । यस्तै, थाहा नगरपालिकामा ५६ जनामा, मकवानपुरगढी गाउँपालिकामा ४२ जनामा, बागमती गाउँपालिकामा ६ जनामा, कैलाश गाउँपालिकामा ५ जनामा, बकैया गाउँपालिकामा १५ जनामा र राक्सिराङ गाउँपालिकामा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । मकवानपुर जिल्लामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
त्यसैगरी, देशभर साढे २ महिनामा २५ हजार ५ सय ४३ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको छ । बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० (कूल संक्रमितको झन्डै ७८ प्रतिशत) जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।