हेटौंडा, ६ बैशाखः शुक्रबार साँझ हावाहुरीसहितको असिनापानीले मकवानपुरको मनहरी गाउँपालिकामा क्षति पुगेको छ । मनहरीको वडा नम्बर ४, ५ र ७ मा क्षति पुगेको छ । मनहरीमा घरगोठमा क्षति पुगेको छ भने एकजना घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ ।
तीन हजार कुखुरा मरेको अनुमान गरिएको उल्लेख गर्नुहुँदै एउटा पाडाको पनि मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मकैबालीसँगै केराबाली र तरकारी बालीमा पनि क्षति पुगेको छ । क्षतिको विवरण संकलन तथा प्रभावितहरुलाई सहयोग गर्न वडाका जनप्रतिनिधि, स्थानीय प्रहरी, सामाजिक अगुवा लागी परेको गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो ।
वडास्तरमा काम भइरहेको उल्लेख गर्नुहुँदै गाउँपालिका अध्यक्षले गाउँवासीलाई सतर्क रहन र नआत्तिन आग्रह गर्नुभएको छ । असिनापानीसहितको हावाहुरीले उत्पन्न गराएको समस्या समाधान गरेर अगाडि बढ्न गाउँपालिका साथमै रहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।