हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा तरकारी कृषकहरुलाई लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको अवधिमा सामाजिक दुरी कायम गरेर पारिवारिक खेतीको काम गर्न सरकारले आग्रह गरेको छ । किसानहरुले बिहान ६ देखि ९ बजेको समयमा ग्राहकको घर—घर मै गएर तरकारी बिक्री वितरण पनि गरिरहेका छन् । किसानहरूले डोकोमा तरकारी बोकेर बिक्री गर्न थालेका हुन् । मकवानपुर जिल्लाको राम्रो तरकारी उत्पादन हुने स्थानमध्ये मकवानपुरगढी गाउँपालिका पनि एक हो । हाल गाउँपालिकामा फर्सीको मुन्टा, भण्टा, गोलभेडा, बोडी, काक्रो लगायतका तरकारीहरु उत्पादन भैरहेको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै मकवानपुरगढी गाउँपालिकाका कृषकहरुको नियमित हुने खेतिपाती लगायतका कार्यहरुलाई पनि लकडाउनले प्रभाव पारेको छैन । हाल किसानहरु धान गोड्ने र मकै गोड्ने र छर्ने कार्यमा आ—आफ्नो परिवार लागी परेका छन् । गाउँपालिकामा बीउ र मलको व्यवस्था गाउँपालिका र कृषि सहकारीहरूको समन्वयमा उपलब्ध भैरहेको कृषि प्राविधिक चौधरीले बताउनुभयो ।