स्वास्थ्य चौकीमा आरडीटी गर्दै ।

हेटौंडा, ६ बैशाखः कैलाश गाउँपालिकाको प्रेम सेवा समाज सामुदायिक स्वास्थ्य केन्द्रमा आज र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । फागुन महिनायता विदेशबाट र काठमाडौंबाट आएका २३ जनाको आरडीटी टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको कैलाश गाउँपालिकाका स्वास्थ्य संयोजक श्याम सुन्दर महत्तोले बताउनुभयो ।

आरडीटीमा नेगेटिभ देखाएका किटहरु ।

कैलाश गाउँपालिकालाई प्राप्त २३ किट मध्ये २३ वटैको प्रयोग भएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट २ जना र गाउँपालिकाकै ३ जना प्राविधिकसहित ५ जनाको टोलीले आज आरडीटी गरेको थियो । गाउँपालिकामा विदेशसँगै काठमाडौंबाट भित्रिएका नागरिकहरुको पनि कोरोना परीक्षण गर्नुपर्ने स्थानीयबासीले बताएका छन् । कैलाश गाउँपालिकाले भने अब माथिल्लो भेग गोगने क्षेत्रमा छिट्टै आरडीटीबाट कोरोना परीक्षण गर्ने जनाएको छ । परीक्षण गर्न जनप्रतिनिधी, टोलबासीहरुसँग समन्वय भएको कैलाश गाउँपालिकाले जानकारी दिएको छ ।