बकैया गाउँपालिकाले कान्तिलोकपथ हुँदै आएका यात्रुलाई उद्दार गर्दै ।

हेटौंडाः विभिन्न स्थानबाट हिँडेर मकवानपुर आइपुगेका ५ सय ३३ जना पैदलयात्रीलाई उद्दार गरी जिल्लाको सीमासम्म यातायातको साधनमा पठाइएको छ । आज मात्रै एक सय ६८ जनाको उद्दार गरिएको छ । पैदल हिँडेर आफ्नो घरसम्म जाने क्रममा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ र लायन्स क्लबको सहयोगमा उद्दार गरिएको हो । आजसम्म ५ सय ३३ जना पैदलयात्रीहरुको उद्दार गरिएको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल जिल्लाभित्रै पैदलयात्रीहरुलाई निशुल्क उद्दार गरिएको छ । त्यस्तै दाङ, चितवन लगायत अन्य जिल्ला जानेहरुलाई भाडाका सवारीले दुवै जिल्लाको सिमानामा पुर्याइदिने तथा अर्का जिल्लाका सामाजिक संघसंस्थासँग समन्वय गर्ने कार्य भएको उहाँले बताउनुभयो । लकडाउनको समयमा लामो दुरीको पैदल यात्रा गर्नेहरुलाई लायन्स क्लब, हेटौंडा उपमहानगरले खाजा खाना दिएर सहयोग गरिरहेको छ । त्यस्तै थाहा नगरले गाडि भाडा तथा मकवानपुर उद्योग वाणिज्य संघले पास मिलाईदिने तथा समन्वय गर्ने कार्य गरेको न्यौपानेले बताउनुभयो । लकडाउनसम्म यस्तो कार्य निरन्तर हुने न्यौपानेको भनाई छ । एक जिल्लाबाट अर्को जिल्लामा सिधै उनीहरुलाई लैजान मिल्दैन । अर्का जिल्लाले स्वीकार नगर्ने भएकोले मकवानपुरको सिमानासम्म पुर्याइदिने गरेको उहाँले बताउनुभयो । उनीहरुलाई भने यसैगरी हरेक जिल्ला हुँदै आफ्नो गन्तव्यसम्म पुर्याइने उहाँले बताउनुभयो ।