हेटौंडाः हेटौंडा–४ गर्दोइ क्षेत्रमा रहेका छाडा कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको सुई लगाउन सुरु गरिएको छ । शनिबार कर्रा युवा, दारी ग्याङ र भेटेरिनरी समुह हेटौंडाको संयुक्त आयोजनामा सडकमा छाडा छोडिएका कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको सुई लगाइएको हो ।
शनिबार २५ वटा छाडा कुकुरको बन्ध्याकरण गरिएको र ५० कुकुरलाई रेबिजविरुद्धको सुई लगाइएको हेटौंडा–४, कर्राका निरजसिंह ठकुरीले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाले ५० थान रेबिजविरुद्धको सुई उपलब्ध गराएको र ५० कुकुरलाई मात्र सुई लगाएको ठकुरीले बताउनुभयो । हेटौंडामा अहिले छाडा कुकुरहरुको संख्या बढ्दै गएकाले बन्ध्याकरण र रेबिजविरुद्धको सुई लगाइएको ठकुरीले बताउनुभयो । भेटेरिनरी समुह हेटौंडाका डा. मोहित साहको सहजीकरणमा कुकुरलाई बन्ध्याकरण र सुई लगाइएको हो ।
हेटौंडा बजार क्षेत्रमा अहिले एक हजार भन्दा बढी संख्यामा छाडा कुकुर रहेको हुन सक्ने अनुमान गरिएको छ । उपमहानगरपालिकाले थप भ्याक्सिन उपलब्ध गराएमा अभियानलाई निरन्तरता दिइने ठकुरीले बताउनुभयो । अभियानमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको पनि उपस्थिति रहेको थियो । उपप्रमुख बानियाँलाई हेटौंडा क्षेत्रमा रहेका सबै छाडा कुकुरलाई उठाएर एउटा निश्चित क्षेत्रमा राख्नुपर्ने सुझाव दिइएको ठकुरीले बताउनुभयो ।