हेटौंडाः स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला प्रवल जनसेवाश्री पदकबाट सम्मानित हुनुहुने भएको छ । संविधान दिवसको अवसरमा सोमबार सरकारले विभिन्न पदक तथा सम्मान घोषणा गर्ने क्रममा स्वतन्त्रका राष्ट्रिय अध्यक्ष बास्तोलालाई पनि सम्मान गरिने विवरण सार्वजनिक भएको हो ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रकाशित हुने आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक समेत रहनुभएका बास्तोला पत्रकारितामा विगत ४२ वर्षदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । यसअघि उहाँ प्रजातन्त्र सेनानीको नाउँमा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, हिमदूत पत्रकारिता पुरस्कार, रोयल सहकारी पत्रकारिता पुरस्कार, इर्खबहादुर श्रीप्रभा गुरुङ स्मृति पुरस्कार र गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । उहाँका चार वटा मौलिक कृति तथा छ वटा सम्पादित कृति प्रकाशित छन् ।











