हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि संघीय सरकारले चैत ११ गतेदेखि लक डाउनको घोषणा गर्दै नागरिकलाई घरमै बस्न आग्रह गरेको थियो । पहिलो पटक चैत १८ गतेसम्मका लागि घोषणा गरिएको लक डाउनको समय बढाउँदै सरकारले बैशाख १५ गतेसम्म लक डाउन कायम रहने जनाएको छ । लक डाउनका बेला सिंगो मुलुक ठप्प भए पनि मानिसको जन्म भने रोकिएको छैन । हेटौंडा अस्पतालमा लक डाउन सुरु भएदेखि बैशाख २ गते मंगलबारसम्ममा १ सय ५० शिशु जन्मिएका छन् ।
देशभरका अस्पतालले आकस्मिक र प्रसुती सेवा बाहेक अन्य सेवा रोकिराखेको छ । लक डाउन सुरु भएयता हेटौंडा अस्पतालमा प्रसुती सेवा लिएका गर्भवती मध्ये १० जना २० वर्षभन्दा कम उमेरकै रहनु गम्भीर विषय हो । २० वर्षभन्दा कम उमेरमा विवाह नै नमानिने कानूनी व्यवस्था भए पनि २० वर्षभन्दा कम उमेरमै प्रसुती सेवा लिन आउने स्थिति कायमै रहेको हेटौंडा अस्पतालका महिला स्वास्थ्य विशेषज्ञ डा. राम काजी महर्जनले जानकारी दिनुभयो । प्रसुती सेवा लिएका मध्ये १५ जनाले पूर्वनिर्धारित रुपमा शल्यक्रिया गरिएको थियो भने २३ जनाको आकस्मिक शल्यक्रिया गर्नुपरेको हेटौंडा अस्पताल प्रशासनले जनाएको छ ।