बागमती प्रदेश सरकारले कोरोना परीक्षण प्रयोगशाला निर्माण गरेको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र ।

हेटौंडाः आज दिउँसो निधन भएकी हेटौंडा–२, बुद्धचोककी ८६ वर्षीय महिलाको कोरोना संक्रमण भए नभएको बुझ्न स्वाब परीक्षण गरिँदैछ । परिवारका सदस्यले कोरोनाको संक्रमण भएको हो कि भन्ने आशंका गरेपछि परीक्षण गर्न लागेको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयो । मृतक महिलाको बारेमा बुझ्दा कोरोनाको संक्रमणको सम्भावना नरहेको डा. श्रेष्ठले बताउनुभयो ।
दीर्घ उमेरसँगै स्वास्थ्य समस्याका कारण ओछ्यानमै दैनिकी बिताइरहनुभएकी वृद्धा आज बिहानको खाना खाएर सुत्नु भएको थियो । दिउँसो ३ बजेको समयमा हेर्दा वृद्धाको मृत्यु भएको परिवारका सदस्यले जनाएको छ । हेटौंडा अस्पतालको स्वास्थ्यकर्मीले वृद्धाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको र आजै साँझ प्रयोगशालाको रिपोर्ट आउने बताइएको छ । ती वृद्धाको आजै राप्तीखोलामा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।