८ नम्बर वडाले बिहिबार वितरणका लागि तयार पारेको राहत सामग्री । तस्वीरः बोलबहादुर कार्कीको फेसबुकबाट ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा आफैंले वडाका छ सय ५० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको छ । उपमहानगरपालिकाले पर्याप्त राहत प्रदान नगरेका कारण वडा आफैंले उधारोमा राहत सामग्री खरिद गरेर वितरण गरेको वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
‘वडा कार्यालयले संकलन गरेको लगतअनुसार छ सय ५० परिवारलाई राहत वितरण गर्नुपर्ने देखियो’, वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठले भन्नुभयो, ‘उपमहानगरपालिकाले दुई सय परिवारका लागि मात्रै राहत लिएर जान भनेपछि वडा आफैंले खरिद गरेर बिहिबार र शुक्रबार वितरण गर्यौं ।’ वडामा सुकुम्बासी वस्ती भएकोले विपन्न परिवार धेरै देखिएको र उपमहानगरले दिएको सामग्रीले पर्याप्त नहुने भएपछि वडा आफैंले उधारोमा राहत सामग्री खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भने सबैतिर राहत पुर्याउनुपर्ने भएकोले चार सय परिवारलाई पुग्ने पठाइदिन्छु भने पनि ८ नम्बर वडाले नलगेको बताउनुभयो । ८ नम्बर वडाले करिब ९ लाख रुपैयाँको राहत सामग्री खरिद गरेर उपमहानगरपालिकाको मापदण्डअनुसार नै वितरण गरिएको जानकारी गराएको छ । बिहिबार र शुक्रबार दुई दिन टोल टोलमा पुगेर राहत वितरण गरिएको वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।