गुगल तस्विर ।

हेटौंडाः मकवानपुरमा असार महिनामा २६ जनाले आत्महत्या गरेका छन् । असारमा १८ जनाले झुन्डिएर र ८ जनाले विष सेवन गरी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आत्महत्या गर्नेमा १७ जना पुरुष र ९ जना महिला रहेका छन् । आत्महत्या गर्नेमा १० देखि १८ वर्ष उमेर समूहका १ जना, १८ वर्षदेखि ६० वर्षसम्मका १२ जना र ६० वर्षभन्दा माथिका ४ जना पुरुष रहेका छन् । महिलामा १० देखि १८ वर्षसम्मका २ र जना १८ वर्षदेखि ६० वर्षसम्मका ७ जना रहेको देखिन्छ । जेठ महिनामा झुन्डिएर ८ जना, विष सेवन गरेर ६ जनाले र पेट्रोल खन्याएर १ जनाले गरी १५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा १८ वर्षदेखि ६० वर्षसम्मका ९ जना र ६० वर्षभन्दा माथिका १ जना पुरुष रहेका छन् । महिलामा १० देखि १८ वर्षसम्मका १ र जना १८ वर्षदेखि ६० वर्षसम्मका ३ जना र ६० वर्ष भन्दा माथिका १ जना रहेको देखिन्छ ।

असारको तुलनामा आत्महत्या गर्नेको संख्या कम रहेको देखिएको छ, १० जना पुरुष र ५ जना महिला रहेका छन् । असार महिनामा पनि महिला भन्दा पुरुषको संख्या दोब्बर रहेको छ । असार महिनामा अधबैसे उमेर समूहकै संख्या धेरै रहेको छ । साउन महिनामा झुन्डिएर ११ जना, विष सेवन गरी ३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १० देखि १८ वर्षसम्मका १ जना, १८ वर्षदेखि ६० वर्षसम्मका ५ जना र ६० वर्षभन्दा माथिका ३ जना पुरुष रहेका छन् । महिलामा १० देखि १८ वर्षसम्मका १ र जना १८ वर्षदेखि ६० वर्षसम्मका ३ जना र ६० वर्ष भन्दा माथिका १ जना रहेको देखिन्छ । यस महिनामा ९ जना पुरुष र ५ जना महिला रहेका र आत्महत्या गर्नेमा पुरुषको संख्या दोब्बर रहेको छ ।

बैशाख महिनामा ७ जनाले आत्माहत्या गरेका छन् । जसमा झुन्डिएर ४ जना र विष सेवन गरेर ३ जनाले आत्महत्या गरेका छन् । १८ वर्षदेखि ६० वर्षसम्मका २ जना पुरुष र १८ वर्षदेखि ६० वर्षसम्मका ५ जना महिलाले आत्महत्या गरेका छन् । बैशाख महिनामा चार महिनाको तुलनामा आत्महत्या गर्नेको संख्या सबैभन्दा कम रहेको छ । बैशाख महिनामा आत्महत्या गर्नेमा पुरुष भन्दा महिला बढी रहेको देखिन्छ ।

बैशाख महिनामा २ जना पुरुष र ५ जना महिलाले आत्महत्या गरेका छन् । समग्रमा हेर्दा ४ महिनाको अबधिमा मकवानपुरमा ६२ जनाले आत्महत्या गरेको देखिएको छ । यस अवधिमा ३८ जना पुरुष र २४ जना महिलाले आत्महत्या गरेका छन्, जसमा महिलाको तुलनामा पुरुषको संख्या दोबर रहेको देखिएको छ । आत्महत्या गर्नेमा १८ देखि ६० वर्षका मानिस बढी छन् । जसमा २८ जना पुरुष र १८ जना महिला रहेका छन् ।

आत्महत्याको घटना बढ्दै गएको विषयलाई लिएर हेटौंडा उपमहानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले आत्महत्याको घटना न्यूनीकरणका लागि उपमहानगरपालिकाले रणनीतिक योजना तयार पार्न सुरु गरेको जानकारी दिनुभयो । सुरक्षा निकाय र सरोकारवालाबीच सहकार्य गरेर आत्महत्याको घटना न्यूनीकरण गर्न अपनाउनुपर्ने सतर्कताका विषयमा रणनीतिक योजना बनाइन लागेको नगर प्रमुख लामाको भनाइ छ ।

नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक रेग्मीले आत्महत्याका घटना न्यूनीकरण गर्न सम्भव भएको र त्यसका लागि रणनीतिक योजना आवश्यक भएको बताउनुभयो । आत्महत्याको घटना विकराल बन्दै गएको उल्लेख गर्नुहुँदै आत्महत्याको घटना नहोस् भनेर परिवार र समाजका हरेक सदस्य सचेत र सतर्क हुनुपर्ने एसएसपी रेग्मीको भनाइ छ ।