मकवानपुरका स्थानीय तहहरु बालमैत्री पालिका घोषणामा निकै प्रतिस्पर्धा गरिरहेका छन् । देशका प्रायः सबैजसो पालिकाहरु बालमैत्री घोषणा गर्न नसकिरहेको अवस्थामा मकवानपुरका पालिकाले आफूलाई बालमैत्री घोषणा गर्न हतारो गरिरहेका छन् । संघीयता कार्यन्वयनसँगै भएको राज्य पुनर्संरचनापछि बनेका ७५३ स्थानीय तहमध्ये मकवानपुरका मनहरी देशकै पहिलो बालमैत्री पालिका घोषणा गरियो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार हालसम्म मकवानपुरका ३ वटा पालिका बालमैत्री घोषणा भइसकेका छन् । देशभर जम्माजम्मी ४ वटा पालिका बालमैत्री घोषणा भएकोमा मकवानपुरकै ३ वटा छन् । हेटौंडा उपमहानगरपालिका पनि बालमैत्री घोषणाको दौडमा अग्रसर भएको छ । करिब १५ महिनाभित्र (२०८० मंसिरसम्म) हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी भइरहेको छ ।

हरेक पालिकाले आफूलाई बालमैत्री घोषणा गर्नु सकारात्मक हो भने यो अति आवश्यक पनि छ । बालबालिकाको हक अधिकार प्राप्ति र रक्षाका लागि बालमैत्री स्थानीय शासन अत्यावश्यक छ । तर, बालमैत्री घोषणा भन्दा पनि बालमैत्रीको अनुभूति महत्वपूर्ण हुनेछ । बालमैत्री घोषणाका लागि तोकिएका ५१ वटा सूचकहरु कार्यान्वयन नै नभई हतारमा घोषणा गरिनु हुँदैन । हतारमा घोषणा गर्ने र घोषणापछि कुनै वास्ता नगर्ने परिपाटी हामीमा छ । विगतमा गरिएका खुला दिशामुक्त, पूर्ण साक्षर, बालश्रममुक्त, बालविवाहमुक्त जस्ता अनेकौं घोषणा त्यसको पूर्ण पालनाको अवस्थाले बालमैत्री घोषणालाई पनि शंकाको रुपमा हेर्नुपर्ने बनाइदिएको छ । विगतमा मनहरी, बकैया, मकवानपुरगढी गाउँपालिकाले बालमैत्री घोषणामा जति तत्परता देखाएर चटारो गरे, त्यसको दिगोपन र निरन्तरतामा त्यति ध्यान दिएको पाइँदैन ।

हेटौंडा उपमहानगरपालिकाले पनि आफ्नो पालिकालाई २०८० साल मंसिरसम्ममा बालमैत्री घोषणा गर्ने निर्णय गरेको छ । बालमैत्री घोषणाको तयारीस्वरुप आयोजित अभिमुखीकरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले २०८० मंसिरसम्ममा नगरलाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको छ । उपमहानगरपालिकाले बालमैत्री पालिका घोषणा तयारीका लागि उपमहानगर प्रमुख लामाको संयोजकत्वमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरका सम्पूर्ण वडा अध्यक्ष, उपमहानगरका शिक्षा, स्वास्थ्य, सामाजिक विकास महाशाखा, विषयगत संघ, संस्था, विद्यालयका प्रधानाध्यापकहरु सम्मिलित समिति निर्माण भएको छ । उपमहानगरपालिकाले बालमैत्री पालिका घोषणाका लागि गर्नुपर्ने कार्य र जिम्मेवारीका बारेमा सरोकारवालालाई अभिमुखीकरण गरेको छ ।

बालमैत्री घोषणाअघि यसको तयारी सम्बन्धमा आवश्यक अभिमुखीकरण हुनु राम्रो हो । अभिमुखीकरणसँगै बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने सबै सूचकहरुको वास्तविक अवस्थाको तथ्यपरक लेखाजोखा हुनुपर्छ । बालमैत्री घोषणाका लागि आवश्यक सबै सूचकहरु पूरा भएपछि मात्रै घोषणा गरिनुपर्छ । बालमैत्री घोषणामा प्रतिस्पर्धा गरेर कागजी उपलब्धीको भरमा बालमैत्री घोषणा भएमा त्यो निरर्थक हुन्छ, जुन मनहरीलगायत पालिकामा देखिएको छ । बालमैत्री पालिकामै बालविवाह तथा बालश्रमको बिगबिगी पाइएको छ । विद्यालय बाहिर रहेका बालबालिकाको संख्या पनि त्यस्ता पालिकामा भेटिएका छन् । हेटौंडालाई बालमैत्री घोषणाको मिति तय गरिरहँदा घोषणाअघिका तयारीलाई तिब्र पारिनु पर्छ । बालमैत्री घोषणाका लागि सबै सूचक पूरा भएको ग्यारेन्टीपछि मात्र बालमैत्री घोषणा गरिनुपर्छ ।