कार्यक्रमको बारेमा जानकारी गराउँदै रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राई ।

हेटौंडाः रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका नेपाल भरिका रोट्र्याक्ट क्लबहरुको अध्यक्ष र सचिवहरुको औपचारिक बैठक (प्रेसिडेन्ट/सेक्रेटरी मिट) हेटौंडामा हुने भएको छ । यहि भदौ २५ गते हेटौंडामा देशभरीका प्रेसिडेन्ट/सेक्रेटरी मिट हुने आज शुक्रबार रोट्र्याक्ट क्लब अफ हेटौंडा र रोट्र्याक्ट क्लब अफ मकवानपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले कार्यक्रमबारे जानकारी गराउँदै बैठकमा देशभरका १ सय ७६ रोट्र्याक्ट क्लबका अध्यक्ष र सचिवहरु सहभागिता हुने बताउनुभयो । बैठकमा विभिन्न क्लब तथा रोट्र्याक्टसँग सम्बन्धित विभिन्न मद्दाहरु तथा प्रस्तावहरुमा छलफल गरी निष्कर्ष निकालिने उहाँले बताउनुभयो । सामाजिक सेवा गर्ने उद्देश्य बोकेको रोट्र्याक्ट क्लब अहिले १ सय ७० देशमा सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

रोट्र्याक्ट डिस्ट्रिक केन्द्रिय कमिटीको मुल संयोजनमा हुने कार्यक्रम रोट्र्याक्ट क्लब अफ हेटौंडा र रोट्र्याक्ट क्लब अफ मकवानपुरले आयोजना गर्ने भएको हो । हरेक वर्ष हुँदै आएको कार्यक्रम गत वर्ष पोखरामा भएको थियो । कार्यक्रम भदौ २५ गते शनिबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हेटौंडा–२ स्थित होटल एभोकाडोमा हुनेछ । कार्यक्रममा करिब १ हजार जनाको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।