हेटौंडाः मकवानपुर जिल्लामा अघिल्लो वर्षहरुको तुलनामा यस वर्षको एसईई नतिजा खस्किएको छ । गतवर्ष २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ५२ जनाले ४ जीपीए ल्याउँदा यस वर्ष २०७८ सालमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य रहेको छ । कोरोनाको कारण आन्तरिक मूल्यांकनबाट भएको परीक्षामा धेरै विद्यार्थीहरुले उत्कृष्ट नतिजासहित उत्तिर्ण भएका थिए भने यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा थोरै विद्यार्थीले मात्रै उत्कृष्ट नतिजा ल्याएका छन् ।
२०७७ सालको एसईईमा ६ हजार ४ सय २३ जना विद्यार्थी सहभागी भएका थिए । जसमा प्राविधिक धारतर्फ २ सय ४६ जना र ग्रेडवृद्वितर्फ ३८ जना विद्यार्थी सहभागी भएका थिए । २०७७ सालको एसईईमा ३ दशमलब ६१ देखि ४ दशलब ० जीपीए ल्याउने विद्यार्थीको संख्या ६ सय २८ जना रहेको थियो । जसमा ५२ जना विद्यार्थीले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । ३ दशमलब २१ देखि ३ दशमलब ६० जीपीए ल्याउने १ हजार १ सय ८२ जना, २ दशमलब ८१ जीपीएदेखि ३ दशमलब २० जीपीए ल्याउने एक हजार ९ सय १५ जना विद्यार्थी रहेका थिए ।
तर, यसवर्ष २०७८ सालको एसईई नतिजा प्रकाशन हुँदा ४ दशमलब ० जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य छ । एक दशमलब ६ देखि २ जीपीए ल्याउने विद्यार्थी धेरै छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा गत बुधबार सार्वजनिक गरेको थियो ।
मकवानपुरमा ७ हजार १ सय ५२ जनाले परीक्षाको फारम भरेका मध्ये ७ हजार ७२ जना उत्तीर्ण भएका छन् । साधारणतर्फ ६ हजार ८ सय ३२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ २ सय ४० जना उत्तीर्ण भएका छन् । परीक्षामा साधारण र प्राविधिक दुबैतर्फ ३ सय २० जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । मकवानपुरमा ९२ जना विद्यार्थीले ३ दशमलब ६ देखि ४ जीपीए ल्याएका छन् ।
एसईई नतिजाको तथ्यांकअनुसार जिल्लाको नतिजा खस्कदो देखिन्छ । विगत २ वर्षदेखि आन्तरिक मूल्यांकनकोे आधारमा एसईई नतिजा प्रकाशन गर्दा मनलाग्दी भएको पाइएको हो । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा मूल्यांकन गरेकाले यस वर्षको एसईई नतिजा खस्किएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले दावी गर्नुभयो ।