हेटौंडाः मन्दिर संचालक समितिको पदाधिकारीहरुको भेलाले आज मंगलबार धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन गरेको छ । नेपाली कांग्रेसका नेता भीमसेन महतको अध्यक्षतामा समिति गठन गरिएको हो ।
जिल्लामा रहेका धार्मिक पर्यटन क्षेत्रको एकीकृतरुपमा विकास गर्ने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष महतले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले जिल्ला भित्रका सबै मन्दिरहरुको गुरुयोजना निर्माण गर्ने, बजेट माग गर्ने र छिमेकी जिल्लाहरुमा पनि प्रचारप्रसार गर्नेछ । समितिले पहिलो चरणमा हेटौंडाभित्रका संरचना निर्माण भएका मन्दिरको गुरुयोजना बनाउने र स्थानीय तथा प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आग्रह गर्ने उहाँले जानकारी दिनुभयो । मन्दिरको विकास क्षेत्रमा छरिएर विनियोजन हुने बजेटलाई एकीकृत गर्ने प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।
समितिको सहसंयोजक ईश्वरीप्रसाद न्यौपाने, सचिव विनोद महत, सहसचिव बासुदेव खतिवडा र कोषाध्यक्ष राममान श्रेष्ठ रहेका छन् । त्यसैगरी, समितिको सदस्यहरुमा केदार चौलागाईं, रामानुज वाग्ले, चित्रप्रसाद भट्ट, जगन्नाथ पाण्डे, शालिकराम अधिकारी, अर्जुनप्रसाद तिमल्सिना, राजीव सुवेदी र रविन्द्र घिमिरे रहेका छन् ।