हेटौंडाः बागमती प्रदेश सभाले हालसम्म ७० वटा कानून पारित गरेको जनाएको छ । आज मंगलबार बागमती प्रदेश सभा सचिवालय हेटौंडाले पत्रकार सम्मेलन गरी ५५ वटा मुल विधेयक र १५ वटा संशोधन विधेयक गरी ७० वटा कानून निर्माण गरेको जानकारी दिएको हो ।
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको अनुसार ९९ वटा कानून निर्माण गरिने भएपनि सरकारलाई ८३ वटा मात्र कानून आवश्यक रहेको छ । तर, हालसम्म अझै १३ वटा कानून बागमती प्रदेशमा निर्माण हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यस्तै, प्रदेश सभा सचिवालयमा ७५ वटा कानून दर्ता भएकोमा ६६ वटा प्रमाणिकरण भएको बताईएको छ । जसमा कार्यविधि २ वटा, स्वीकृत अध्यादेश ८ वटा, पारित हुन नसकेको अध्यादेश ३ वटा रहेका छन् । २ सय ४० पटक बसेको बैठकमा करिब २ सय ८८ घण्टा २० मिनेटको समयमा उक्त कानून निर्माण भएको सभामुख श्रेष्ठले बताउनुभयो ।
शुन्य समयमा ११ पटक, विशेष समयमा २९ पटक, सार्वजनिक महत्वको प्रस्तावमा १ पटक र मुख्यमन्त्री जवाफ(शुन्य र विशेष समय) मा १४ पटक छलफलहरु गरिएको थियो । यस्तै, कार्यव्यवस्था परामर्श समितिको ९५ पटक, प्रदेश मामिला समितिको ९२ पटक, सार्वजनिक लेखा समितिको ७५ पटक बैठक बसेको छ । अर्थ तथा विकास समितिको ७० पटक जसमा उपसमितिको २८ पटक बैठक बस्दा स्थलगत अवलोकन ६ पटक गरिएको जनाईएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिको ९६ पटक बैठक बस्दा उपसमितिको ७ पटक बैठक बसेको जनाएको छ । जसमा ५ पटक स्थलगत अवलोकन भएको जनाएको छ । उद्योग, पर्यटन तथा वातावरण समितिको ७७ पटक बैठक बसेको छ भने उपसमितिको १२ पटक बैठक हुुँदा स्थलगत अवलोकन ८ पटक भएको छ ।
दशौं अधिवेशनको क्रममा ३३ पटक बैठक, कार्य व्यवस्थाको बैठक ७ पटक बसेको उल्लेख गरेको छ । यस्तै मुल विधेयक ३ वटा र संशोधन विधेयक ३ वटा र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक एक वटा पारित भएको सभामुख श्रेष्ठले जानकारी दिनुभयो । पारित हुन नसकेको प्रतिस्थापन विधेयक ३ वटा रहेको उहाँले बताउनुभयो ।