जिल्ला प्रशासनमा आज भएको निर्णय ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले जिल्लामा आवश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिको समन्वय मकवानपुर उद्योग वाणिज्य संघले गर्ने निर्णय भएको छ । लक डाउनका बेला उपभोग्य वस्तु तथा सेवाको अभाव हुन नदिन, अस्वभाविक मूल्यवृद्धि वा कालाबजारी समेत हुन नदिन व्यवसायीको छाता संस्थालाई जिम्मेवार बनाइएको छ ।
यसअघि हिजो मात्रै मकवानपुर उद्योग वाणिज्य संघले खाद्यान्न व्यवसायी संघसँगको समन्वयमा दैनिक उपभोग्य खाद्यान्न वस्तुको बजार मूल्य सार्वजनिक गरेको थियो । दैनिक उपभोग्य वस्तुको सहज ढुवानीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहजीकरण गर्ने भएपछि व्यवसायीको छाता संस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघले समन्वयको कार्य गर्ने निर्णय भएको बैठकमा सहभागी मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो ।

चैत १ गते यता बिदेशबाट आएकाको पालिकास्तरीय लगत ।

यस्तै आजको बैठकले क्वारेन्टाइनको खाना खर्च प्रदेश सरकार र स्थानीय तहको कोषबाट खर्चिने निर्णय गरेको छ । संघीय सरकारको निर्णयअनुसार आवश्यक स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्न चाहने उद्योगहरुलाई सुचारु गर्न दिइने निर्णय पनि भएको छ । संघीय सरकारको निर्णयअनुसार श्रमिक तथा अन्य जनशक्ति अनिवार्य रुपमा कार्यस्थलभित्रै रहनुपर्ने, उनीहरुको आवास र खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने, कार्यालयबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्य लगायतअन्य कुनै व्यक्तिसँग सम्पर्क आउन नदिने व्यवस्था हुनुपर्ने लगायतका सर्तहरु राखिएका छन् । आजको बैठकमा मकवानपुर जिल्लामा चैत १ गतेयता विदेशबाट आएका ४ सय २४ जना सम्पर्कमा रहेको र उनीहरु होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।