हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा ए र बी पोजेटिभ रगतको अभाव भइरहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी गराउनुभएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम तथा लक डाउनका कारण रक्तदान कार्यक्रम नभएका कारण रगतको अभाव भएको दाहालको भनाइ छ ।
अहिले रक्तसञ्चार केन्द्रले बोलाएको बेला आउने रक्तदाता (अनकल डोनर) लाई बोलाएर मागअनुसारको रगत संकलन गरिरहेको उहाँले जानकारी दिनुभयो । हेटौंडामा रगतको माग न्यून भए पनि माग धान्न गाह्रो भइरहेको छ । हेटौंडा–११ स्थित चुरेहिल हस्पिटलमा मिर्गौला रोगीको डायलासिलका लागि दैनिक ३ प्रिन्ट रगत अनिवार्य जस्तै उपलब्ध गराउनुपर्ने र थप एक–दुई प्रिन्ट गरी दैनिक करिब ५ प्रिन्ट रगत जरुरी हुने गरेको प्रमुख दाहालले बताउनुभयो । रक्तसञ्चार केन्द्र हेटौंडासँग रहेको अनकल डोनरको करिब एक सय जनाको सूचिबाट आवश्यकताअनुसार रक्तदाता बोलाएर रक्तसञ्चार केन्द्रमै रगत संकलनको कार्य गरिरहेको प्रमुख दाहालले बताउनुभयो ।