हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाईरस (कोभिड–१९) को महामारीका बेला संयमता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । आज एक अपील जारी गर्दै प्रमुख खुलालले कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त भएको अहिलेको परिस्थितिमा नेपालले पनि कोरोना महामारीको कारण अकल्पनीय परिस्थितिको सामना गरिरहेको भन्दै यस्तो अवस्थामा आफ्नो मात्र होइन, आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन लकडाउनका बेलामा संयमित भएर घर बाहिर ननिस्कन आव्हान गर्नुभएको छ ।
नेपाल अहिले कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवत–जावतमा प्रतिवन्ध लगाएको भन्दै दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना हुन सक्ने भए पनि आ–आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा मात्र यो रोगको रोकथाम गर्न सहज हुने हुनाले संयमता अपनाएर सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन उहाँले आव्हान गर्नुभएको छ । त्यस्तै प्रमुख खुलालले यस्तो परिस्थितिमा स्थानीय तहको भूमिका अझै बढेको भन्दै दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवीहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएकाले स्थानीय तहहरुलाई आआफ्नो तहमा प्रभावकारी रुपमा लाग्न तथा समयमै सचेतता अपनाउन आग्रह गर्नुभएको छ ।