–अस्मिता भट्टराई
अहिले नेपाली समाजको धेरै सुधार भएको छ । पहिलाको भन्दा अहिलेको अवस्थामा शिक्षा, स्वस्थ्य, मानव अधिकारका विषय आदि समग्र क्षेत्रमा विकास भएको छ । भौतिक विकास सँगसँगै हरेक क्षेत्रमा विकास भएको छ । तर के अहिलेको विज्ञान र प्रविधिको समाज तथा २१औं शताब्दीमा आईपुग्दा यत्ती विकास नै प्रयाप्त हो त ? अझ वैज्ञानिक रुपमा अगाडि बढ्न जरुरी छ जस्तो लाग्छ ।
सामान्यतया कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने सकारात्मक परिवर्तन नै विकास हो । विकास समयसँगै त्यसको माग अनुसार आफैं विकासित हुँदै जान्छ । यसमा भौतिक, सामाजिक, साँस्कृतिक, मनोवैज्ञानिक विकास पर्दछ । विकासलाई भौतिक संरचना निर्माण/भौतिक विकास मात्र मानिएको छ । चिल्लो बाटो, ठुला ठुला घर, भएका खेतहरु मासेर बनाउने प्लटिङ्का बाटाहरु नै विकास हो ? यति मात्र हुँदा विकास भएको हुन्छ । मानिस सामाजिक प्राणी हो । उ समाजमा बस्छ एकअर्का बीच सहकार्य गर्दै जीवन चलाउन खोज्छ तर अहिलेको अवस्थामा एकआपसमा सहकार्य भन्दा पनि उसले मैले भन्दा राम्रो गर्यो भन्दै इस्र्या/घमण्ड बोकेर सामाजिक बन्धन तोडेको अवस्था छ ।
विकास गर्नपर्ने मानिस, ठुला ठुला पोस्टमा भएका व्यक्तिलाई पोस्टमा रहेको घमण्ड छ । भ्रष्टाचार गर्न व्यस्त छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार बनेर देशमा निम्ति केही गर्छु भनेर बसेमा व्यक्तिले केही गरेका छैनन् । सुरुमा चुनाव जित्नका लागि घरदैलोमा पुगेर म यो गर्छु त्यो गर्छु भन्छन् तर चुनाव पछिको त्यो पदमा पुगिसकेपछि खै त विकास गरेको ? अहिले यहाँ म केही गर्छु भनेर अगाडि बढेकालाई गर्न नदिने र आफुले पनि नगर्ने अवस्था छ । बैशाख ३० मा सम्पन्न स्थानीय सरकारको चुनावमा जनप्रतिनिधी निर्वाचित भएसँगै विभिन्न विषयमा छुट्टिसकेको छ । छुट्टाईएको बजेटलाई अब कसरी प्रयोग होला त ? भौतिक संरचनाको विकास मात्र नभएर हरेक क्षेत्रमा विकास हेला त ? अहिलेको अवस्थामा शिक्षा त्यत्ति प्रभावकारी भएको देखिँदैन । त्यस्तै स्वास्थ्य, संस्कृति, मानोविज्ञानको विकासमा पनि त्यति प्रभावकारी विकास भएको देखिँदैन । यो भन्दा १० वर्ष अगाडिको अवस्थामा र अहिले अवस्थालाई मध्यनजर गर्ने हो भने त पक्कै पनि धैरै नै प्रभावकारी बनेको छ । तर यो मात्र पर्याप्त छैन । अब आउने पुस्तालाई यति गरेर हुँदैन जस्तो लाग्छ ।
अहिले वर्षाको समय देशभर रातभरी, दिनभरी झरी परिराखेको छ । गाउँघरका विद्यालयहरु धेरै पानी परेकाले बन्द भएका छन् । किन बन्द भए त ? पानी परेर बाटो बिग्रिएको छ । त्यसै सानो बाटो हुन्छ त्यही पनि हिलो बाटो ती साना बालबालिका कसरी पुग्ने विद्यालयसम्म ? विद्यालयमा बसको व्यवस्था भएपनि बाटोको समस्याले बस पनि पुग्दैन । त्यसपछि २/३ घण्टा हिँडेर विद्यालय जाने अवस्था समेत आएको छ । एकातर्फ नजिक विद्यालय छैन अर्काेतर्फ २/३ घण्टा हिँडेर विद्यालय जानुपर्छ । त्यस्तै स्वास्थ्यको क्षेत्रमा उपचार सबैको पहुँचमा छैन । टाढाबाट स्वास्थ्य उपचारका लागि आए पनि आइसकेपछि आफ्नो पहुँचमा छैन । निजी अस्पतालमा त भई नै हाले तर सरकारी अस्पतालमा पनि उपचारका लागि गाह्रो भइराखेको देख्न सकिन्छ ।
अर्काे अहिलेको प्रमुख विषय बनेको फोहोर व्यवस्थापन । देशका प्रमुख सहरहरुमा फोहोरको उचित व्यवस्थापन नभएकाले व्यक्तिको स्वस्थ्य तथा विभिन्न कुरामा असर परेको छ । फोहोर त व्यक्ति आफैंले गर्ने हो । घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टाएर नराख्नु हाम्रो लापरवाही हो । हप्तामा २ वा १ पटक फोहोर लिन आउँछ, तापनि कुहिने र नकुहिने एकैठाउँ भएकाले व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । यो विषयमा सरकारले केही गरिदिएन भन्दा पनि हामीले गरेनौं भन्न सुहाउँछ । खै हामीले आफ्नो घरको फोहोर व्यवस्थापन गरेको ? सरकारले गरेन भन्नका लागि त आफुले पहिला आफ्नो घरको मात्र व्यवस्था गर्नुपर्यो नि । उदाहरणका लागि बाटोमा हिँड्दा चक्लेट, बिस्कुट खाएर त्यसको कागज बाटो त्यसको कागज बाटोमै फालिन्छ आफ्नो पकेटमा राखेर डस्टिबिनमा राख्न सक्दैनौं हामी अनि अरुले गरेन भनी दोष पनि लगाउँछौं । पहिला आफुले सुरु गरे अरुले सुरु गर्छ । अर्काेतर्फ स्थानीय सरकारले बाटो—बाटोमा डस्टबिन राखिदिएको पनि छैन जसका कारण बाटोमा फाल्न बाध्य छन् ।
समग्र हेर्ने हो भने सुधार गर्नुपर्ने धेरै छ । संघीय सरकार देखि लिएर स्थानीय सरकारले कडा रुपमा काम गरे विकास हुन धेरै समय लाग्छ जस्तो लाग्दैन । म देशका लागि केही गर्छु भनेर त्यो ठाउँसम्म पुगेका व्यक्तिले राम्रोसँग काम गरे हाम्रो देश विकासशील देशबाट विकसित देश हुन धेरै समय लाग्दैन । अब युवा नै त्यो ठाउँसम्म पुग्नुपर्ने अवस्था आएको छ । युवाले नै आफ्नो देश चलाउँछु भन्ने भावना बोकी अगाडि बढ्न जरुरी छ जसका कारण अहिले विदेशिएका युवाहरुको लहर अलि कम हुन्छ कि । अहिले भएका जनप्रतिनिधिले चलाउन मिल्दैन भन्न मिल्दैन तर त्यो ठाउँमा बसेर अहिलेका जनप्रतिनिधीले पदको बेवास्ता गरेको अवस्था छ । देश विकास भन्दा पनि पैसाको पछाडी लागेका छन् । नेपालको सहरहरुमा विकास र प्रविधी तथा सबैकुराको पहुँच/व्यवस्था भएपनि गाउँघरसम्म यो पुग्न सकेको छैन । आशा गरेर बसेका छन् ति तमाम मानिसहरु जोसले आफ्नो मत दिएर जनप्रतिनिधीलाई जिताएका छन् । आशा गरेर बसेका छन् कि अब गाउँघरमा हरेक सुविधा पहुँच आउला भनेर । गएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले त्यो आशाको भोको पेटलाई भरिदिएलान् त ?
कुनै पनि कुरा वा पक्षको सकारात्मक परिवर्तन नै विकास हो । अहिले भौतिक विकास मात्र विकास हो भन्ने सोचको पनि अन्त्य गर्न जरुरी छ । ठुला ठुला घर, भवन निर्माण, चिल्लो बाटो मात्र भए विकास भयो भन्ने सोच राखेका व्यक्तिको सोच परिवर्तन गर्नपनि जरुरी छ । सचेतनाको कमि भएकाले मानिसमा चेतना बढाउन जरुरी छ । त्यस्तै संस्कृतिको नाममा भएको विकृतीलाई हटाउन नि जरुरी छ । जस्तैः छाउपडी, दाइजो, बालविवाह जस्ता विकृती हटाउन जरुरी छ । संस्कृतीको नाममा विवाह गर्दा दाईजो दिने चलन, अझै गाउँघरमा भएको बालविवाहको चलन हटाउनुपर्छ । यसका लागी सचेतनाका साथसाथै व्यतित सोच/धारणालाई परिवर्तन गर्न जरुरी छ । आशा छ यसमा पनि तिनै तहको सरकारले केही पहल र कडा नियम बनाएर त्यसको कडा कार्यन्वयन हुन्छ होला ।
नेपालको पहिलाको अवस्थाबाट अहिलेको अवस्था धेरै नै राम्रो छ । नेपालको विकास क्रम हेर्दा २००७ सालमा राणाकालिन शासन हटेर प्रजातान्त्रिक व्यवस्था आएको थियो । त्यसपछि प्रजातान्त्रिक हटेर पञ्चायती शासन पछि बहुदलीय र नेपालमा लोकतन्त्रको स्थापना भएको थियो । त्यस पश्चात लोकतन्त्रपछि अहिले गणतन्त्रको स्थापना भएर अहिले गणतन्त्र चलिरहेको छ । राणाकालिन अवस्थादेखि अहिलेसम्मको अवस्था हेर्दा नेपाल सुधारोन्मुख कार्यहरु भएको छ । अबको अवस्था वा अगामी पुस्तालाई अहिले जति विकास भएको छ त्यत्ति पर्याप्त हुँदैन । त्यसैले अझै प्रभावकारी ढंगबाट विकास हुन जरुरी छ । भौतिक पूर्वाधारको विकासलाई मात्र विकास नठानेर सम्रग सबै पक्षमा विकास गर्दै जानुछ । म पनि केही गर्छु देशको लागी भनेर अगाडि बढ्न आवश्यक छ । देशका हरेक जनताले आशा र विश्वासको मत आफ्नो जनप्रतिनिधिलाई खसालेका छन् र त्यो मत विश्वास र आशाको भोको पेट निर्वाचित जनप्रतिनिधीले मेट्न सक्लान् त ?