हेटौंडाः हेटौंडा–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगितामा राजदेवी माध्यमिक विद्यालयकी प्रतीक्षा लम्साल प्रथम भएकी छन् । बिहीबार भएको प्रतियोगितामा प्रतीक्षा प्रथम भई नगद पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी कविता लेखन र बाचनमा प्रगति मावि, हेटौँडा ९ की जिज्ञासा पौडेल द्वितीय भएकी छन् । उनले नगद ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । जनज्योति मावि हेटौडा–१४, मयुरधापका सौरज देवकोटा तृतीय हुन सफल भएका छन् । देवकोटाले नगद तीन हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै त्रिभुवन माविकी आसना मगर सान्त्वना भएकी छन् । मगरले २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।

त्रिभुवन माविको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको प्रायोजनमा प्रतियोगिता भएको हो । सामुदायिक विद्यालयका माध्यमिक तहमा अध्ययनरत् ३७ जना सहभागी विद्यार्थीले राष्ट्रिय भावना झल्काउने कविता वाचन गरिएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई स्थलगत कविता लेख्न लगाई वाचन गर्न लगाइएको थियो । प्रतियोगिताको निर्णायकमा छवि अनित्य, श्यामकुमार बानियाँ र अनिता न्यौपाने हुनुहुन्थ्यो ।

यस्तै आधारभूत तह स्तरीय भएको चित्रकला प्रतियोगितामा जनप्रिय माविका फिलिप प्रजा प्रथम हुन सफल भएको छ । युगचेतना प्रविका विवश थिङ द्वितीय भएको छ । त्रिभुवन माविका राजन लामा तृतीय तथा जन प्रिय माविका खुसी खातुन र शान्ति बहिरा माविका ठमेल निरौला सान्त्वना भएका छन् । चित्रकलामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूले क्रमश ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छन् । चित्रकलामा २५ जनाको प्रतियोगिहरुको सहभागी थियो । सन्यासी श्रेष्ठ, कृष्ण खतिवडा र दिव्य न्यौपानेले चित्रकलामा निर्णायकको भुमिका निर्वाह गर्नुभयो ।