हेटौंडाः नेपाल डेरी एसोसिएशनको २२औं वार्षिक साधारणसभा, ८औं राष्ट्रिय महाधिवेशन र डेरी मेला आजबाट सुरु हुँदैछ । बिहीबार पत्रकार सम्मेलन मार्फत् नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले यस्तो जानकारी दिनुभएको हो । शुक्रबार बिहान प्रभातफेरीगरी कार्यक्रमसँगै डेरी मेला सुरु हुने बताइएको छ ।
दैनिक दूध पिउन जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्न र दूध तथा दुग्ध पदार्थको उपभोगमार्फत खाद्य पोषण सुरक्षामा सुनिश्चितता गर्ने उद्देश्यले डेरी मेला आयोजना गरिएको महासचिव दाहालले जानकारी दिनुभयो। मेलामा दूध तथा दुग्ध पदार्थको परिकारसहितको विभिन्न करिव १५ वटा स्टलहरु रहनेछ । जसमा विभिन्न उद्योगी व्यवसायीसहित १० वटा विद्यालयका विद्यार्थीहरुले मेलामा अवलोकन गर्नेछन् । नेपालमा २ सय ५० वटा डेरीका उद्योग रहेकोमा मझौला, साना, ठुला जस्ता गरी ४ प्रकारको उद्योग रहेको छ ।
यस्तै, नेपाल डेरी एसोसिएसन मकवानपुरका अध्यक्ष राजु श्रेष्ठले मकवानपुरमा ३५ हजार औपचारिक रुपमा दूध प्रशोधित हुने गरेको बताउनुभयो । ५६ वटा दूध संकलन केन्द्रहरु रहेका छन् जसमा १० वटा नेपाल डेरी एसोसिएसनमा आवद्ध रहेको उहाँले बताउनुभयो । नेपाल डेरी एसोसिएसनको पृष्ठभूमि, दूधको महत्त्व, नेपालमा डेरी क्षेत्रको इतिहास, देश भरिको दुग्ध क्षेत्रको पृष्ठभूमि, डेरी क्षेत्रमा गर्न आवश्यक कामहरू, डेरी क्षेत्रमा वर्तमान समयमा देखिएका समस्याले पारेका असरहरु, नितिगत तथा राज्यसँगको अपेक्षाहरु, आर्थिक बर्ष २०७९/०८० को लागि भावी कार्यक्रमबारे जानकारी गराइएको थियोे ।