हेटौंडाः नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरले बिहीबार मनहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । शिक्षाक्षेत्रमा भएको विकृति, विसंगतिहरुको उन्मूलन गर्न र संविधानतः निशुल्क शिक्षा लागु गर्न माग गर्दै उक्त पत्र बुझाएको हो ।

बिहीबार अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सुर्य बहादुर गोलेको नेतृत्वमा गएको टिमले मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतिलाई ज्ञापनपत्र बुझाएको हो । आजको समयमा पनि सामुदायिक र निजि विद्यालयको नाममा भईरहेको विभेदकारी शिक्षालाई समान शिक्षाको रुपमा लागु गर्नु राज्यको दायित्व भएता पनि राज्य सन्चालकहरुले उक्त दायित्वबोध नगरेको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत धारा ३१ को उपधारा २ मा लेखिए अनुसार आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षा लागु गर्न समेत जोड्दार माग गरेको छ । संविधानमै व्यवस्था गरेको शैक्षिक अधिकार तत्काल लागु गर्न, गराउन पहल नगरे कडा संघर्षमा उत्रिन बाध्य हुने कुरा समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ ।