हेटौंडाः मकवानपुर जिल्लामा चैत १ गते यता बिदेशबाट आएका थप २८ जना पहिचान भएको र उनीहरु होम क्वारेन्टाइनमा रहेका छन् । जिल्लाका दस वटै पालिकाबाट विवरण संकलन गर्ने क्रममा चैत १ गते यता मकवानपुरमा बिदेशबाट आउनेको संख्या सोमबारसम्म ३ सय ५४ जना थियो । मंगलबारसम्ममा थप २८ जनाको पहिचान भएको र उनीहरु होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धमा बसेको बैठकमा पेश भएको पालिकास्तरीय विवरणमा हेटौंडा उपमहानगरपालिकामा १७ जना, थाहा नगरपालिकामा ६ जना, बागमती गाउँपालिकामा ३ जना र भीमफेदी गाउँपालिकामा २ जनाको विवरण थपिएको हो । सोमबारसम्ममा हेटौंडा उपमहानगरपालिकामा १४७ जना, थाहा नगरपालिकामा ७४ जना, मनहरी गाउँपालिकामा ६६ जना, ईन्द्रसरोवर गाउँपालिकामा १६ जना विदेशबाट आएका छन् । यस्तै भीमफेदी र बागमती गाउँपालिकामा १४/१४ जना, बकैया गाउँपालिकामा १२ जना, कैलाश र मकवानपुरगढी गाउँपालिकामा ५/५ जना र राक्सिराङ गाउँपालिकामा १ जना विदेशबाट आएका छन् ।
विदेशबाट आएका मध्ये हेटौंडा उपमहानगरपालिकाका २ जना क्वारेन्टाइन र २ जना आइसोलेसनमा छन् । आइसोलेसनमा रहेका २ जना भने कोरोनाको परीक्षणमा संक्रमण नदेखिएपछि डिसचार्ज भइसकेका छन् । यस्तै मनहरी गाउँपालिकामा पनि विदेशबाट आएका एकजना र स्थानीय एकजनाको कोरोना परीक्षणमा संक्रमण देखिएन । बिदेशबाट आएका अन्यको हकमा भने स्वास्थ्य अवस्था सामान्य रहेको र होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।