
हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा क्याम्पस बागमती विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा स्थापित भएको छ । यसअघि समुदायको सक्रियतामा सञ्चालित हेटौँडा क्याम्पस बागमती विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रुपान्तरित भएको हो ।
हेटौँडा क्याम्पसले शुक्रबार पत्रकार सम्मेलन गरेर बागमती विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा पठनपाठन सुरुवात गरिसकेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले स्थानीयस्तरमै गुणस्तरीय तथा व्यावसायिक शिक्षा उपलब्ध गराउने प्रयास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु शैक्षिक सत्रबाट व्यवस्थापन, कानून र शिक्षाशास्त्र संकायका कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा होटल व्यवस्थापन तथा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । सूचना प्रविधिसम्बन्धी स्नातक कार्यक्रममा सफ्टवेयर निर्माण, डाटाबेस व्यवस्थापन, नेटवर्किङ तथा साइबर सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिने क्याम्पस प्रमुख मानन्धरको भनाइ छ ।
शिक्षाशास्त्रअन्तर्गत स्नातक तहको कार्यक्रमलाई आधुनिक तथा प्रविधिमैत्री बनाइएको जनाउँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले स्थानीयस्तरमै गुणस्तरीय शिक्षा उपलब्ध हुँदा विद्यार्थीको बाहिरिने क्रम कम हुने र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।










