हेटौँडा : मकवानपुर जिल्लाका कम्प्युटर विज्ञान अध्यापनरत शिक्षकहरूका लागि कम्प्युटर विज्ञान समाज मकवानपुरले एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गरेको छ । दिनेश उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।
शनिबार सम्पन्न कार्यशालामा भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) का प्रधानाध्यापक सूर्यप्रसाद न्यौपानेले कार्यक्रमले शिक्षकहरूका लागि विषयवस्तु अध्ययन, प्रश्न निर्माण र आन्तरिक तथा प्रयोगात्मक अंक निर्धारणसम्बन्धी सहजीकरण गर्नुभयो । पाठ्यक्रम विकास केन्द्रका विषयविज्ञ तथा प्रशिक्षकद्वय नवीनकृष्ण मास्के र विमल थापाले सहजीकरण गर्नुभएको कार्यशालामा २२ विद्यालयका ३० जना शिक्षकहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षक मास्केले विद्यार्थीहरू शिक्षकभन्दा अघिअघि गइरहेको सन्दर्भमा शिक्षकहरूलाई चुनौति र अवसर दुबै रहेको बताउनुभयो । कार्यशालाको उद्घाटन समारोहका प्रमुख अतिथि विनोद सुवेदीले तालिमलाई अवसरको रूपमा लिँदै आफू समेत अनुशासित हुँदै सिकाउने अभियानमा कटिबद्ध भएर लाग्न बताउनुभयो । कार्यशालाको अध्यक्षता गर्नुभएका दिनेश उप्रेतीले शिक्षकहरूका लागि शैक्षिक सत्रको सुरूवातमै कम्प्युटर विज्ञान अध्यापनमा आइपर्ने समस्या पहिचान र समाधानका लागि सहजीकरण गर्नु नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।
अन्य विषयगत कार्यशाला तथा तालिमहरू निरन्तर भइरहेको सन्दर्भमा कम्प्युटर विषयका तालिमहरू कम देखिएको तर अध्यापनरत शिक्षकहरूमध्ये युवाहरूको बाहुल्यता रहेकोले सिकाइका लागि आवश्यक ज्ञान र सिकाइहरूबारे कम्प्युटर विषयका शिक्षकहरू आआफ्नो बलबुँतामै पनि निरन्तर अद्यावधिक भइरहेको भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक घिमिरेले बताउनुभयो । कार्यशालालाई सनराइज पब्लिकेसन प्रालिले प्रायोजन गरेको हो ।











