अनौपचारिक शिक्षाका लागि पुस्तकालय एउटा महत्वपूर्ण मञ्च हो । सबै उमेर समूहको साझा अध्ययनस्थलको रुपमा पुस्तकालय उपयोग हुन सक्छ । वर्तमान सूचना प्रविधिको युगमा पुस्तकालय स्थापना र सञ्चालनको विषयलाई कतिपयले अस्वभाविकजस्तो मान्ने गरेका छन् । तर व्यक्तिको मानसिक तन्तुरुस्तीदेखि शैक्षिक वृद्धिका लागि मुद्रित पुस्तक जतिको प्रभावकारी अन्य अध्ययन हुन सक्दैन भन्ने कुरा स्थापित भएको छ । पछिल्लो पुस्तामा पुस्तक अध्ययनको संस्कृति नै हराएको छ । जीवनलाई प्रविधिमैत्री बनाउनु नै सफलता ठान्ने प्रवृत्तिले गर्दा शिक्षित वर्गसमेतले पुस्तक अध्ययनलाई महत्व दिन छाडेको पाइन्छ । अनौपचारिक शिक्षाका लागि प्रविधिमैत्री अध्ययनभन्दा पुस्तक पढ्ने बानीले मानिसलाई थप गतिशील बनाउने गर्दछ ।
पुस्तक पठनको अभ्यासले व्यक्तिमा ज्ञानको दायरा बढाउँछ । नयाँ जानकारी प्राप्त गर्नुका साथै नयाँ योजनाको आधार पनि तयार पार्छ भन्ने तथ्य मानिसले बिर्संदै गएका छन् । नेपालमा भन्दा धेरै पहिला नै प्रविधिको प्रयोग गरी अध्ययन गर्ने मुलुकहरुमा पुस्तक अध्ययनको शिलशिलामा कुनै कमी आएको छैन । सम्पन्न मुलुकहरुमा पनि पुस्तकालयहरुको उच्च महत्व छ । तर नेपालमा पछिल्ला वर्षहरुमा पुस्तकालयप्रति आम रुचि नै कम हुँदै गएको छ । सार्वजनिकमात्र हैन कि, क्याम्पस तथा विद्यालयहरुमा समेत पुस्तकालयको व्यवस्था निकै कमजोर हुँदै गएको छ । इन्टरनेटलाई नै आफ्नो महत्वपूर्ण श्रोतका रुपमा उपयोग गर्ने पद्धतिले पुस्तकालयको प्रयोगमा कमी आएको देखिन्छ । पुस्तक अध्ययन नगर्ने सस्कृतिले ज्ञानको दायरालाई नै साँघुरो बनाउने खतरा छ ।
हेटौंडाका केही युवाहरुले मकवानपुरमा पुस्तकालय सञ्चालनको अभियान सुरु गरेका छन् । अभियानले स्थानीय तहलाई पुस्तकालयको आवश्यकता, औचित्य र बजेटको व्यवस्थापनमा सकारात्मक प्रभाव पारेको छ । सरकारी तहबाट पुस्तकालय सञ्चालन गर्ने तर अध्ययनका लागि मानिसको उपस्थिति नहुने हो भने राज्यको लागानीमात्र खेर जानेछ । यसका लागि नागरिक स्वयम्मा पुस्तक अध्ययनको बानी हुन जरुरी छ । पुस्तकालाय स्थापनापछि मानिसले त्यसको प्रयोग गर्ने वातावरण बन्न सक्छ । स्थानिय तहहरुले नीति तथा कार्यक्रममा पुस्तकालय स्थापनाको योजना ल्याउने र बजेटको यथोचित व्यवस्था गर्नु आवश्यक छ । अघिल्लो वर्षमा स्थानीय तहहरुले नीति तथा कार्यक्रममा उल्लेख गरे पनि व्यवस्थान हुन सकेन ।
आगामी आर्थिक वर्षको योजना बन्दै गर्दा हेटौंडा उपमहानगरपालिकाले सबै वडाहरुमा पुस्तकालय स्थापना गर्ने जनाएको छ । आवश्यक बजेट छुट्याउने जनप्रतिनिधिहरुको प्रतिबद्धता कार्यान्वय गरिनुपर्दछ । नत्र अन्य कार्यक्रमजस्तै घोषणामा नै सिमित हुने खतरा छ । अभियानले जिल्लाका अन्य पालिकाहरुमा आग्रह गरेको भए पनि हेटौंडा उपमहानगरपालिकाका सबै वडाबाट कार्यान्वयनमा जोड दिएको देखिन्छ । स्थानीय सरकारले पुस्तकालय स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन नै बनाएर कार्यान्वयन गर्नुपर्ने अभियन्ताहरुको माग छ । पुस्तकालय स्थापनाभन्दा प्रयोग र सञ्चालन चुनौतीपूर्ण छ । नागरिकले यसको महत्वलाई आत्मसात गर्न जरुरी छ । विषेशगरी युवाहरुमा पुस्तक अध्ययनको आवश्यकता र औचित्य प्रष्ट्याउन सक्नुपर्छ । नागरिकले पुस्तकको अध्ययनलाई आवश्यक ठानेमा सरकार तथा स्थानीय तहबाट सबै व्यवस्थापन गर्नु दायित्वभित्रकै विषय हो ।