तामाङ जनप्रतिनिधिहरुलाई सम्मान

हेटौंडाः नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशले बागमती प्रदेशका नवनिर्वाचित तामाङ जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सम्मान गरेको हो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट बागमती प्रदेशमा ७८ जना तामाङ जनप्रतिनिधिहरु प्रमुख र उपप्रमुख पदमा विजय भएको थियो । यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको प्रमुख, भीमफेदी गाउँपालिकाको प्रमुख, मकवानपुरगढी गाउँपालिका, बामगती गाउँपालिका र कैलाश गाउँपालिकाको प्रमुखमा तामाङ जनप्रतिनिधि विजयी भएका थिए । यस्तै इन्द्रसरोवार गाउँपालिका र राक्सिराङ गाउँपालिकाको उपप्रमुखमा तामाङ जनप्रतिनिधि विजयी भएका थिए ।

नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिला कुमार घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा घेदुङका संघीय महासचिव काजीमान थिङ, संघीय सदस्यहरु मेम्बर लो, सुवास सिंतानको पनि आतिथ्यता रहेको थियो ।