हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानको उम्मेदवारी परेको छ । यस्तै नेकपा एमालेबाट बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारी दर्ता गरिएको हो ।
गठबन्धनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइटेलको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुखमा नेकपा एमालेले उम्मेदवारी दर्ता नै गरेको छैन । यस्तै महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णमाया थपलिया र सुमिता थिङको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट बिना कुमारी थिङ लामाको उम्मेदवारी परेको छ । महिलातर्फ ३ जना सदस्य निर्वाचित हुनेछ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको छ ।
खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले असार २ गतेका लागि मतदानको कार्यक्रम तय गरेको छ ।