बुलेट बाइकमा अशोक बराल ।

हेटौंडाः चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै घरेलु टिम एफसी विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइक पाएका छन् । सोमबार भएको फाइनल खेलमा उपविजेता बनेको एफसी विजय युथका बराल ए डिभिजन क्लबमा व्यावसायिक फुटबल खेलाडी हुन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो । यसअघि तेस्रो संस्करणमा पनि हेटौंडा स्कूल अफ म्यानेजमेन्टले नै बुलेट बाइकको प्रयोजन गरेको थियो । तेस्रो संस्करणमा मकवानपुरकै अमीर श्रेष्ठले बुलेट बाइक पाएका थिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए । उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् ।

सोमबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली एफसी विजय युथलाई २–१ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जित्यो । उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको एफसी विजय युथले १० लाख रुपैयाँ पाएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । मकवानपुरका १० वटै स्थानीय तहको लगानीमा प्रतियोगिता भएको हो ।