हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकप अन्तर्गत घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज भएको पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिसलाई १–० गोलले हराउँदै विजय युथ फाइनल प्रवेश गरेको हो ।
घरेलु टोली विजय युथलाई जित दिलाउन विदेशी खेलाडी पेपेले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको छैठौं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच पेपे घोषित भएका छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । फाइनल प्रवेशसँगै विजय युथले अब क्यामरुनको एभिनियर एफसी र नेपाल आर्मी बीचको विजेतासँग फाइनल भिड्नेछन् । एभिनियर र आर्मी बीचको दोस्रो सेमिफाइनल खेल भोलि शनिबार हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्बोकृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछन् ।