विश्व नै कोरोना भाइरसको संक्रमण र संक्रमणको त्रासबाट त्राहिमामाम् छ । शक्तिशाली राष्ट्रहरु पराजितको अवस्थामा पुगेका छन् । नेपाल पनि कोरोनाको बाछिटा आइसकेको छ । भाइरसले आफ्नो रौद्र रुप देखाउनु अघि नेपाललाई नियन्त्रणका लागि तयारी गर्न पर्याप्त समय दिएको छ । अहिले पनि त्यसको उचित सदुपयोग गर्न सकिएको छ छैन भन्ने विश्लेषण आवश्यक छ । छिमेकमा आएको भाइरसलाई सिमानामा छेक्न सक्नु पर्दछ । तर नेपालले त्यस प्रकारको होशियारी अपनाउन केही ढिला भएको त हैन भन्ने अवस्था देखिँदैन ।
कोराना भाइरसले चीनको बुहान सहर आक्रान्त हुँदै गर्दा त्यसको प्रभाव विश्वभर पर्ने अनुमान कसैले गरेका थिएनन् । त्यसैले सबैले यो चीनको मात्र समस्याका रुपमा लिए । तर भाइरस युरोप छिरेपछि भने विश्वव्यापी चर्चा भएको हो । इटालीमा भाइरस विस्तार हुँदै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसको भयानक रुपबारे सचेत हुन आव्हान नगरेको हैन । यो सचेतना वुहानबाटै आवश्यक थियो । तर चिनीयाँ भाइरस भन्दै ठट्टा गरिरहेकाहरु यतिबेला पछुताइरहेका छन् । इटालीले गरेको लापर्वाहीपछि भएको विनासले विश्वका अरु देशहरुलाई शिक्षा दिइरहेको थियो ।
होशियारीको पर्याप्त समय हुँदा हुँदै पनि नेपालले गरेको तयारी निकै सुस्त देखिएको छ । तीन महिना भन्दा बढी समय पाएको नेपालले गरेको तयारी पर्याप्त हुन सकिरहेको छैन । इटालीको एउटा कारखानाको एकजना कामदारलाई देखिएको भाइसरले त्यहाँ हजारौंको ज्यान लिइसकेको छ । लक्षण देखिना साथ त्यस कारखानाका सवैलाईं क्वारेन्टाईनमा राखेर नियन्त्रण नगरी अन्य मजदुरहरुलाई छुट्टी दिएपछि संक्रमण देशव्यापी भएको अवस्था नेपाली शासकहरुले शिक्षाका रुपमा नदिएका हैनन् । तर यो शिक्षा सैद्धान्तिक मात्र भयो । व्यवहारमा लागु गर्न सरकार असफल हुँदा आज संक्रमण गाउँ पुगेको आशंका गरिएको छ ।
सरकारले विदेशबाट आउनेहरुलाई एयरपोर्टमा तापक्रम मापन गरेर घर पठायो । तर संक्रमण भएकाहरुमा लक्षण देखिन दुई हप्तासम्म लाग्ने जानकारी नेपालका विज्ञहरुलाई थाहा नभएको पक्कै पनि मान्न सकिँदैन् । यदि थाहा थियो भने किन एयरपोर्टबाट नागरिकहरुलाई आफ्नो गाउँघर पठाईयो भन्ने प्रश्न यतिवेला उठेको छ । चीनको वुहानबाट उद्दार गरिएका विद्यार्थीहरुलाई जस्तै नेपाल भित्रिएकाहरुलाई पनि क्वारेन्टाईनमा राखेको थियो भने आज ट्रेसिङमा समस्या भयो भनेर सरकारले नै गुनासो गर्नु पर्ने थिएन ।
यतिवेला सरकारलाई चैत्र ४ गतेदेखि ६ गतेसम्म नेपाल आएका तीन वटा उडानका करिव ५ सय नागरिक कहाँ छन् उनीहरु संक्रमित छन् वा छैनन् ? छन् भने उनीहरुको सम्पर्कमा को–को पुगे र त्यसबाट कति नागरिक प्रभावित भए भन्ने आँकडा निकाल्नै मुस्किल भईरहेको छ । तीन वटा प्लेनबाट आएका ५ सय नागरिकलाई क्वारेन्टाईनमा राख्नेको थियो भने आज भयावह अवस्थाको अशंका हुने नै थिएन । आशा गरौ त्यस्तो डरलाग्दो अवस्था नेपालमा नवनेको होस् । तर सरकारले गरेको कमजोरी नै यही हो कि समयमै क्वारेन्टाईनको व्यवस्थापन नगर्दा एयरपोर्टबाट सिधै क्वारेन्टाईन नपठाई घर पठाईयो ।
व्यवस्थापनका लागि नेपालले तीन महिना भन्दा वढीको समय पाएकै हो । तर समय छउन्जेल वास्ता नगर्ने र अन्तिममा हतारोमा काम गर्ने नेपाली बानी यस पटक पनि दोहोरिएको छ । लामो समयसम्म परिक्षण गर्ने केन्द्र निर्माण गर्ने देखि स्वास्थ्यकर्मीका सुरक्षा सामाग्रीको व्यवस्थापन किन भएन भन्ने प्रश्न स्वभाविक हो । तर यतिबेला समय नै पुगेन र हतारोमा निर्णय गर्नुपर्ने जवाफ स्वास्थ्य मन्त्रीको छ । तीन महिनासम्म किन यी काम गरिएन भन्ने प्रश्नको उत्तर यतिबेला खोज्नु भन्दा पनि जीवनरक्षाका लागि ध्यान पुग्नु पर्दछ । कमजोरी खोतल्ने समय यतिबेला हैन । नागरिक जीवन रक्षा गर्न सकिएमा ती प्रश्नको खोजी गर्ने र त्यसको हिसाब किताब पनि नागरिकले नै गर्ने छन् । तर आजको मुख्य प्रश्न भनेको जीवन रक्षा नै हो ।
सरकारले यतिबेला नागरिकलाई घर भित्रै बस्न आव्हान गरेको छ । यसले संक्रमण फैलनबाट जोगाउन सक्छ । लामो समय घर भित्रै बस्दा समस्या हुनु स्वभाविक हो । अप्ठेरो अवस्था कुनै एक नागरिक वा समुदाय वा वर्गका लागि मात्र होईन सबैका लागि संकट उस्तै नै हो । त्यसैले सामना सबै क्षेत्रबाट गरिनु पर्दछ । काम, रोजगारी, आवतजावतमा पक्कै पनि असुविधा छ । त्यसैले त संकटको अवस्था हो । सामान्य अवस्थामा यस्ता विषयहरु उठ्ने नै थिएनन् । संकटको सामना सरकारले मात्र गर्नुपर्ने र नागरिकको चाहीँ कुनै जिम्मेवारी नै नहुने जसरी प्रस्तुत हुने समय यो होइन । सरकारले कमजोरी गरेकै छ भने त्यसका विषयमा छलफल र वहस गर्न पनि पहिला त जीवन रक्षा हुनु आवश्यक छ । तसर्थ संकट परिसकेको छ पहिला यसको मुकाविला गरेपछि बाँकी विषयमा छलफल र वहस हुने नै छ ।
संकट भनेकै असामान्य अवस्था हो । यस्तो बेलामा यो पुगेन वा भएन भन्नु भन्दा पनि आफु, परिवार, समुदाय र समाज रक्षाको जिम्मेवारीमा प्रत्येक नागरिकको समान भूमिका हुन्छ । सामान्य अवस्थाकै जस्तो सेवा, सुविधा, अधिकार खोज्ने बेला हैन यो । यो संकट कुनै दल, सरकार, संगठन वा व्यक्तिले निम्त्याएको नभई प्राकृतिक रुपमा भएकाले यतिबेला एक अर्का प्रति खुच्यूँ गर्नु भन्दा बिना विभेद काम गर्न आवश्यक छ । सरकारी सेवा सुविधा वा राहत जस्ता विषयमा पनि पार्टीका भातृ संस्थालाई भन्दा सरकारी संयन्त्रलाई परिचालन गरी जिम्मेवारी र जवाफदेही सबैको हो भन्ने भावनाको विकास गर्दै सामान्य अवस्था भन्दा फरक व्यवहार र आचरण प्रदर्शन अहिलेको खाँचो हो ।