प्रधानाध्यापक गुप्ता (बीचमा), सहायक प्रधानाध्यापक स्याङ्तान (बायाँ) र आधारभूत तह संयोजक पाठक (दायाँ)।

हेटौँडाः हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा विनोदकुमार गुप्ता नियुक्त हुनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिको गत शुक्रबार बसेको बैठकले गुप्तालाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय भएको हो । यसअघिका प्रधानाध्यापक रमेशप्रसाद सुवेदीले बैशाख २ गते राजिनामा दिनुभएपछि रिक्त रहेको प्रधानाध्यापक पदमा गुप्तालाई जिम्मेवारी दिइएको हो ।

विद्यालयको मावि द्वितीय श्रेणीको विज्ञान विषयका शिक्षक गुप्ता २०५२ सालदेखि नै ज्ञानदा माविमा अध्यापनरत हुनुहुन्छ । यसअघि २०७३ सालमा पनि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका गुप्ता विद्यालयका शिक्षक, कर्मचारीको सामूहिक प्रयासमा विद्यालयको समग्र विकासमा अग्रसर हुने बताउनुहुन्छ ।

१० कक्षासम्म पठनपाठन हुने ज्ञानदा माध्यमिक विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिले सहायक प्रधानाध्यापकमा प्रेमबहादुर स्याङ्तान र आधारभूत तहको संयोजकमा भानुभक्त पाठकलाई नियुक्त गरेको छ ।