हेटौंडाः जारी लक डाउनका कारण मकवानपुर जिल्लामा दैनिक करिब १५ हजार लिटर भन्दा बढी दुध किसानको घरमै रोकिएको छ । मकवानपुरका करिब ८ हजार किसानका गोठबाट दैनिक ३५ हजार लिटरभन्दा बढी दुध संकलन गर्दै आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालका अनुसार लक डाउनका कारण विशेषगरी काठमाडौं निर्यात हुने मात्रा घटेको छ । दुधको निर्यात घटेसँगै सहकारीले दिन बिराएर किसानसँग दुध संकलन गरिरहेको दाहालले बताउनुभयो ।
काठमाडौंका ७ वटा उद्योगले दैनिक २० हजार लिटर दुध मकवानपुरबाट लैजाने गरेकोमा लक डाउनका कारण अहिले ३ वटा उद्योगले दैनिक १० हजारको हाराहारी दुध लैजाने गरेको छ । यस्तै मकवानपुरका किसानसँग संकलन गरिएको दुध सहकारी संघ मार्फत हेटौंडा औद्योगिक क्षेत्रस्थित दुग्ध वितरण आयोजनाले ५ हजार ५ सय लिटर, हेटौंडा–१९, नेवारपानीस्थित हेटौंडा डेरी इन्डष्ट्रिजले दैनिक सात हजार लिटर दुध खरिद गरिरहेको दाहालले बताउनुभयो । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध नभएका तर व्यावसायिक पशुपालन गर्ने, सिधै बजारका मिठाई पसलमा दुध विक्री गर्ने किसान पनि प्रत्यक्ष मर्कामा परेका छन् ।