Home अर्थ/व्यापार लक डाउनका कारण दैनिक १५ हजार लिटर भन्दा बढी दुध किसानकै घरमा

लक डाउनका कारण दैनिक १५ हजार लिटर भन्दा बढी दुध किसानकै घरमा

हेटौंडा–६, चौघडास्थित एक सहकारीमा दुध विक्रीका लागि आएका किसान निश्चित दूरि कायम गरी पालो कुर्दै ।

हेटौंडाः जारी लक डाउनका कारण मकवानपुर जिल्लामा दैनिक करिब १५ हजार लिटर भन्दा बढी दुध किसानको घरमै रोकिएको छ । मकवानपुरका करिब ८ हजार किसानका गोठबाट दैनिक ३५ हजार लिटरभन्दा बढी दुध संकलन गर्दै आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालका अनुसार लक डाउनका कारण विशेषगरी काठमाडौं निर्यात हुने मात्रा घटेको छ । दुधको निर्यात घटेसँगै सहकारीले दिन बिराएर किसानसँग दुध संकलन गरिरहेको दाहालले बताउनुभयो ।
काठमाडौंका ७ वटा उद्योगले दैनिक २० हजार लिटर दुध मकवानपुरबाट लैजाने गरेकोमा लक डाउनका कारण अहिले ३ वटा उद्योगले दैनिक १० हजारको हाराहारी दुध लैजाने गरेको छ । यस्तै मकवानपुरका किसानसँग संकलन गरिएको दुध सहकारी संघ मार्फत हेटौंडा औद्योगिक क्षेत्रस्थित दुग्ध वितरण आयोजनाले ५ हजार ५ सय लिटर, हेटौंडा–१९, नेवारपानीस्थित हेटौंडा डेरी इन्डष्ट्रिजले दैनिक सात हजार लिटर दुध खरिद गरिरहेको दाहालले बताउनुभयो । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध नभएका तर व्यावसायिक पशुपालन गर्ने, सिधै बजारका मिठाई पसलमा दुध विक्री गर्ने किसान पनि प्रत्यक्ष मर्कामा परेका छन् ।

Exit mobile version