हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल ।


स्थानीय तह निर्वाचन सकिए लगतै नवनिर्वाचित जनप्रतिनीधिहरुले आफ्नो पदभार ग्रहण गरी काम गर्न सुरु गरेका छन् । हेटौंडा वडा नम्बर ११ मा नवनिर्वाचित वडा अध्यक्ष जुना दाहालले पनि आफ्नो जिम्मेवारी लिनुभएको छ । दाहाल उपमहानगरपालिकामा रहेका १९ वटा वडामध्य एक मात्र महिला अध्यक्षको रुपमा निर्वाचित हुनु भएको हो । अध्यक्षमा निर्वाचित भएसँगै दाहाल हेटौंडा उपमहानगरपालिका भित्र पहिलो महिला अध्यक्ष समेत बन्नु भएको छ । उहाँले स्थानीय तह निर्वाचन–२०७४ मा पनि महिला सदस्यको भूमिका निर्वाह गर्नुभएको थियो । वडा अध्यक्षको रुपमा उम्मेदवारी दिँदा, निर्वाचित हुँदाको अनुभव कस्ता छन ?, आगामी दिनमा कस्ता योजनाहरु प्राथमिकतामा पर्छन् ?, घोषणा पत्रका विषयहरु कत्तिको समावेश गर्नुहुन्छ ? लगायतका विषयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की नवनिर्वाचित वडा अध्यक्ष जुना दाहालसँग समृद्ध समाज दैनिकका लागि प्रिया पौडेलले गर्नुभएको कुराकानीः

समाजः हेटौंडा वडा नम्बर ११ को वडाअध्यक्ष निर्वाचित हुनु भएको छ । चुनावमा तपाईको अनुभव कस्तो रहयो ?

दाहालः चुनावी अभियानमा तिता/मिठा अनुभवहरु समेट्ने अवसर मिल्यो । चुनाव लागेपछि थोरै भागदौड भयो, आफ्ना एजेन्डा स्थानीयलाई बुझाउन तिर लागियो । हेटौंडा ११ मा सम्भवतः सबैको घर–घरमा पुग्यौ । चुनावी अभियानमा सबैको सहयोग प्राप्त भयो । चुनावमा लागे अनुसार नै हामीले नतिजा पनि प्राप्त गरेका छौं । सबैको सहयोगबाट विजयी हुन सफल भएँ । आफु अध्यक्ष पदमा विजयी भएकोले खुसी पनि छु साथै सबैको सहयोग प्राप्त भएकोमा धेरै–धेरै धन्यवाद दिन चाहान्छु ।

समाजः अध्यक्ष पदमा उठ्ने र विजयी हुने सपना कसरी देख्नुभयो ?

दाहालः राजनीतिमा विद्यार्थी कालदेखि नै क्रियाशिल छु । केही समय ट्रेड युनियनमा रहेर भूमिका निर्वाह गरे । त्यसपछि केही समय अखिल नेपाल महिला संघमा रहेर काम गर्ने अवसर पनि पाएको थिएँ । विगत ५ वर्ष हेटौंडा वडा नम्बर ११ को जनप्रतिनीधिको रुपमा काम गर्ने अवसर मिल्यो । त्यो सुनौलो अवसरमा सकेजति स्थानीयको सुख, दुःखमा साथ दिने कोशिस पनि गरेको थिएँ । स्थानीयले आफुलाई गरेको मायाले पनि मलाई चुनावमा टिकट पाए भने जित्छु भन्ने विश्वास थियो । वडा सदस्यको रुपमा काम गर्दा केही सिक्ने अवसर पनि मिल्यो । सोही अनुसार मैले नै नेकपा एमालेको तर्फबाट हेटौंडा ११ को वडाध्यक्षमा दाबी गरेँ । मलाई पार्टीले पनि पूर्ण सहयोग गर्‍यो । निर्वाचनमा उठेपछि म विजयी हुन्छु भन्ने विश्वास पार्टीले पनि लिएको थियो । स्थानीयको सहयोग र पार्टीको विश्वासका कारण नै उम्मेदवारी दिने निर्णयमा पुगेको थिएँ ।

समाजः तपाई प्रति स्थानीयले गरेको विश्वास र अपेक्षालाई कसरी लिनु भएको छ ?

दाहालः स्थानीयले मप्रति धेरै नै विश्वास गरेका छन् । जुन सार्वजनिक भएको मत परिणामले पनि देखाउँछ । वडाको समग्र विकासको निमित्त स्थानीयले विश्वास गरेर मलाई मत दिनुभएको छ । उहाँहरुको विश्वासको मतको उच्च कदर गर्छु । अघिल्लो ५ वर्षको कार्यकालमा पनि काम गर्ने राम्रो समूह थियो । पारदर्शी रुपमा स्थानीयलाई विश्वास दिलाएर नै काम गरेका थियौ । अहिले मेरो नेतृत्वमा आएको नवनिर्वाचित समूह पनि राम्रो छ । वडालाई प्राप्त भएको बजेट विगतको अनुभवको आधारमा पारदर्शी रुपमा काम गर्ने योजना छ । महिला, यूवाहरुलाई सक्षम, स्वरोजगार बनाउन र समग्र पूर्वाधार विकासमा कसरी काम गर्ने भन्ने तर्फ मेरो ध्यान केन्द्रित रहन्छ ।

समाजः अघिल्लो कार्यकालमा पनि सदस्यको भूमिका पूरा गर्नुभयो । सदस्यको रुपमा तपाई अनुभव कस्तो रहयो ?

दाहालः हेटौंडा वडा नम्बर ११ मा निवर्तमान अध्यक्ष गोकर्ण पराजुली हुनुहुन्थ्यो । उहाँले सबैलाई मिलाएर काम गर्नुभयो । उहाँले सबै सदस्यहरु र कर्मचारीहरुलाई समेटेर काम गर्नुभयो । कर्मचारीको सहयोग र साथ पनि हामीले धेरै पाएका थियौं । अघिल्लो कार्यकालमा हाम्रो समूहले राम्रो काम गरेको थियो । अझै केही कामहरु अधुरा छन् । अब अधुरा योजनाहरु पूरा गर्ने मेरो जिम्मेवारी हो । हामीले महिला, बालबालिका, यूवा, वृद्धवृद्धा सबै क्षेत्रलाई समेटेर काम गरेका थियौं । पहिले गरेको कामको अनुभवको आधारमा सक्षम भएर काम गर्ने अवसर मलाई प्राप्त भएको छ । आगामी दिनमा सफल अध्यक्षको रुपमा काम गर्न प्रतिबद्ध छु ।

समाजः हेटौंडा ११ मा तपाईको आगामी योजनाहरु के–के छन् ?

दाहालः शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पूर्वाधार निर्माणका योजनाहरु नै छन् । महिलालाई आयआर्जनसँग जोड्ने, यूवा क्षेत्रमा स्वरोजगारका कार्यक्रम ल्याउने, बालबालिकाको शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको छु । हेटौंडा वडा नम्बर ११ मा ठूलो क्षेत्रफल छ । सिमित स्रोत र बजेट हुन्छ । तर, ठूलो वडा भएकै कारण असिमिति आवश्यकताहरु छन् । प्राप्त बजेटले एकै वर्ष सबै काम हुन्छ र गर्छु भन्न सकिँदैन । ५ वर्षको कार्यकालमा घोषणा पत्रमा भएका सम्पूर्ण योजनाको कामहरु गर्न हामी प्रतिबद्ध छौं । अझ समय अनुसार कतिपय योजनाहरु थप्दै जानु पर्ने पनि हुन्छ । हेटौंडा ११ लाई समृद्धिको बाटोमा डोर्‍याउन हामी काम गर्छौ ।

समाजः घोषणा पत्रका योजनाहरु पूरा गर्नमा तपाई कत्तिको प्रतिबद्ध हुनुहुन्छ ?

दाहालः घोषणा पत्र हामी आफैले निर्माण गरिएको हो । हामीले पूरा गर्न सकिने विषयवस्तु मात्र घोषणा पत्रमा समेटेका छौं । अघिल्लो कार्यकालमा पनि घोषणा पत्रभन्दा धेरै कामहरु गर्न सफल भएका थियौ । शिक्षा, स्वास्थ्य, खानेपानी, यूवा स्वरोजगार, सामाजिक विकास, महिला, विद्युत बिस्तार लगायतका योजनाहरु हाम्रो घोषणा पत्रमा समेटिएका छन् । अहिलेको समयमा हाम्रो पहिलो प्राथमिकता भनेको थानाभर्‍याङमा शुद्ध खानेपानीको व्यवस्था गर्ने नै हो । सम्पूर्ण वडाबासीले शुद्ध खानेपानी पीउन पाउनु पर्छ भनेर खानेपानीको योजना प्रमुख प्राथमिकतामा राखिएको छ ।