मुल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गर्दै सर्वसाधारण ।

हेटौंडाः पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि बिरुद्ध आज मंगलबार हेटौंडामा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ र नेपाल मुस्लिम ईत्तेहादको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

आईतबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँले मुल्य वृद्धि गरेको थियो । मुल्य वृद्धि आम नागरिकको हित विरुद्ध रहेको भन्दै विरोध गरिएको हो । मुल्य वृद्धि खारेज गर, मुल्य वृद्धि चाहिँदैन, जनता मार्न पाइदैँन, नालायक सरकार मुर्दावाद, सडक हामी तताउछौँ मुल्य वृद्धि घटाउछौँ जस्ता नारा सहभागीहरुले लगाएका छन् ।