वडा अध्यक्ष निर्वाचित सुनिल मोक्तान ।

हेटौंडाः हेटौंडा–१५ को वडा अध्यक्षमा नेकपा एमालेका सुनिल मोक्तान विजयी भएका छन् । बिहीबार दिउँसो सम्पन्न मतगणनाअनुसार मोक्तानले २ हजार ४ सय ९१ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नवराज घलानले १ हजार ५ सय १७ मत पाए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा पराजित मोक्तानले यसपटक भने गठबन्धनका उम्मेदवार घलानलाई भारी मतान्तरले विजयी भएका हुन् । यस्तै वडा सदस्यमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा पातलीमाया गोङ्वा, मिनु बिश्वकर्मा, राजेन्द्र तितुङ र सिंहबहादुर लो विजयी भएका छन् । हेटौंडा–१५ मा ५ हजार ७ सय ४७ मतदाता रहेकोमा बैशाख ३० गते सम्पन्न मतदानमा ४ हजार २ सय ४९ मत खसेको थियो ।

१५ नम्बर वडाबाट मेयर पदमा नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेललाई १ हजार ९ सय ११ मत प्राप्त भएको छ भने नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामालाई १ हजार ५ सय २ मत प्राप्त भएको छ । यस्तै राप्रपाका दीपक बहादुर सिंहलाई ३ सय ९० मत प्राप्त भएको छ । उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेलाई २ हजार २ सय ३६ मत प्राप्त हुँदा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँलाई १ हजार ५ सय १८ मत प्राप्त भएको छ ।