हेटौंडाः निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिताको विपरित राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । चुनाव लक्षीत राजनीतिक दलका उम्मेदवारहरुले आचारसंहिता विपरित पालैपालो मोटरसाईकल र्याली निकालेका छन् ।
शनिबार नेकपा एमालेको प्रचारप्रसार गर्दै राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कमिटिको आयोजनामा मोटरसाईकल र्याली निकालेको थियो । यस्तै, आज आईतबार गठबन्धनले हेटौंडा उपमहानगरपालिकामा मेयर पदको उम्मेदवार मिना लामा र उपमेयर पदको उम्मेदवार राजेश बानियाँसहित मोटरसाइकल र्याली निकालेको छ । नेकपा एमाले र गठबन्धनले मोटरसाइकल र्यालीसहित ९ नम्बर वडा परिक्रमा गरी आमसभामा परिणत भएको थियो । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा सवारीसाधनको प्रयोग गर्न नपाईने उल्लेख गरेको छ ।
आचारसंहितामा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईवटा दुई पांग्रे वा तीन पांग्रे वा चार पांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा चारवटा घोडा प्रयोग गर्न पाइने उल्लेख छ । चुनाव जित्ने लक्ष्यका साथ हिँडेका राजनीतिक दलका उम्मेदवारहरु नाच्दै र गाउदै घरदैलो अभियानमा छन् ।
सवारीसाधन प्रयोग गरी चुनावी प्रचारप्रसार नगर्न निर्वाचन आयोगले बारम्बार राजनीतिक दलहरुलाई आग्रह गर्दै आएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हालसम्म ३० वटा आचारसंहिता उल्लङ्घनको उजुरी परेको उहाँले बताउनुभयो । उजुरी परेको सबैलाई निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेर सचेत गराउने काम गरेको छ । आचारसंहिता उल्लङ्घन गर्नेले आगामी दिनमा पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी, तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले आचारसंहिता भित्र रही चुनावी प्रचार प्रसार गर्न राजनीतिक दलहरुलाई आग्रह गर्दै आएको छ ।