हेटौंडाः आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पुर्ण रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । शनिबार सुचना जारी गर्दै प्रशासनले सबै पक्षलाई निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गर्न आग्रह गरेको हो ।
सुचनामा निर्वाचन आचारसंहितालाई पूर्णरूपमा सबै पक्षले पालना गर्न गराउन हुन, राजनीतिक दल तथा उम्मेदवारहरूले आचारसंहितामा तोकिए अनुरूप मात्र झण्डा लगायतका निर्वाचन प्रचार प्रसारका सामग्रीहरू प्रयोग गर्न भनिएको छ । यस्तै साँझ ७ बजे बजेपछि कुनै किसिमका निर्वाचन प्रचार प्रसारका कार्यहरू नगर्नु नगराउन, आज शनिबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि बेलुकी ८ बजेपछि मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन गर्ने कार्य नगर्न , नगराउन, ठूलो आवाजमा माइकिङ्ग गरी ध्वनी प्रदूषण गर्ने कार्य तत्काल बन्द गर्न भनिएको छ ।
अहिले जिल्लामा स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जिल्लास्थित सम्पूर्ण संयन्त्रहरू परिचालन गरी पूर्वतयारीका कार्यहरू भइरहेको प्रशासनले जनाएको छ । निर्वाचन आयोगद्वारा जारी गरिएको स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ पालना गर्ने गराउने सन्दर्भमा जिल्लास्तरमा राजनीतिक दल लगायत सरोकारवालाहरूसँग पटक–पटक छलफल बैठक तथा निर्णयहरू भई आचारसंहिता पालनामा प्रतिबद्धता समेत व्यक्त भएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन निर्वाचनमा भाग लिने राजनीतिक दल , उम्मेदवार नागरिक समाज, सञ्चार क्षेत्र लगायत सबै सरोकारवालाहरूको समेत महत्वपूर्ण भूमिका रहने सुचनामा उल्लेख छ ।