स्थानीय तह निर्वाचनमा मतदानको दिन नजिक आएसँगै दलहरुका क्रियाकलाप अराजनीतिक बन्दै गएका छन् । नेताहरुका पछिल्लो अभिव्यक्तिले निर्वाचनलाई उनीहरुले कुन रुपमा लिएका छन् भन्ने प्रष्ट्याएको छ । आफूअनुकूल परिणाम नआए राम्रो नहुने प्रकारका धम्की दिनुले उनीहरुको उद्देश्य, लोकतान्त्रिक पद्दतिप्रतिको निष्ठा र निर्वाचनप्रतिको विश्वासमाथि प्रश्न उठेको छ । लामो संघर्ष गरेर प्राप्त गरेको वर्तमान राज्य प्रणालीप्रति उनीहरुको निष्ठा धर्मराएको त हैन ? नागरिकको मन जित्नेभन्दा जबर्जस्ती गर्ने प्रवृत्ति अहिले पनि यथावत देखिन्छ । पछिल्ला क्रियाकलाप र अभिव्यक्तिले ठूला सबै दलहरु निर्वाचन परिणामलाई सहजै स्वीकार गर्ने पक्षमा छैनन् भन्ने देखाएको छ । नेताहरुका भाषाशैली र व्यक्त भनाइका आधारमा पनि निर्वाचनलाई आफ्नो पक्षमा पार्ने प्रयासमा दलहरु देखिन्छन् ।
म नै राज्य, म नै शासक भन्ने प्रवृत्ति र सोहीअनुसारका मन्तव्यदेखि आफूहरुलाई मत नदिए दुर्घटना हुने चेतावनी वा आफ्ना उम्मेद्वार विजयी नभए केन्द्रीय बजेट नदिनेसम्मका धम्की मतदाताको स्वतन्त्र मताधिकारमाथिको ठाडो हस्तक्षेप हो । जोसुकै र जुनसुकै पदाधिकारी भए पनि गैरसंसदीय, अलोकतान्त्रिक तथा सर्वसत्तावादी भाषाशैली र व्यवहारविरुद्ध निर्वाचन आचारसंहिताअनुसार कारवाही हुनैपर्दछ । यस्ता व्यक्तिहरुलाई आयोगले नाम नै तोकेर सजाय गर्ने वा जरिवाना तिराउनेसम्मका निर्णय गर्ने र सो सार्वजनिक गर्न आवश्यक छ । नत्र भने निर्वाचन आयोग पनि ठूलाबडाको सेवामा मात्र खडा भएको देखिनेछ । उसले सञ्चालन गर्ने निर्वाचन कार्यक्रमप्रति आम नागरिकले पनि प्रश्न गर्न सक्छन् ।
कुनै एक व्यक्ति पराजित हुँदा देश नै दुर्घटनामा पर्ने अभिव्यक्ति राष्ट्रहितविपरित हो । कुनै अमुक उम्मेद्वारको जित र हारमा मात्र राजनीतिक व्यवस्था अडेको अर्थ लगाउनु सरासर अलोकतान्त्रिक चरित्र हो । दुर्घटनाको त्रास देखाएर निर्वाचन परिणाम आफ्ना पक्षमा पार्ने कर्म अवश्य पनि निर्वाचन आचारसंहिता विपरित हो । यसमा निर्वाचन आयोगले कस्तो प्रतिक्रिया दिने हो आम नागरिक समाज पर्खाइमा छ । यस्तै बजेट निकासका लागि सत्तापक्षलाई नै विजयी गराउनुपर्ने अर्को धम्कीलाई कसरी हेर्ने ? राज्यको बजेट कुनै अमुक उम्मेद्वार वा दलको पेवा हो र ? निर्वाचनमा मतदानको दिन नजिक आउँदै गर्दा नेताहरुका अराजनीतिक अभिव्यक्तिमाथि अंकुश लगाउनै पर्दछ ।
नेताका बोली र व्यवहारबाट भुक्तभोगी मतदाता सचेत हुनैपर्दछ । आफ्नो सिद्धान्त र विचार मिल्ने दलका नेताहरुले अन्यथा बोले पनि आँखा चिम्लेर समर्थन गर्ने प्रवृत्ति कार्यकर्ताले छाड्नु पर्दछ । यस्तै मतदाताले पनि आफ्नो हैसियत भुल्नु हुँदैन । मतदानका दिन नेताहरु केही पनि होइनन् । जब चुनाव चिन्हमा छाप लगाएर अधिकार सुम्पिएपछि उनीहरु सिंह हुनेछन् । मतमार्फत् अधिकार हस्तान्तरण गर्दा कसलाई र किन मतदान गर्दैछु भन्ने प्रश्नको जवाफ आफैँभित्र खोज्नुपर्दछ । धम्क्याएको वा फुक्र्याएको भरमा मतदान गरी भोलिदेखि नै पछुताउने अवस्था नआओस् भन्नेतर्फ होशियारी अपनाउनै पर्दछ । मिठो भाषाशैली वा डरधम्कीभन्दा यथार्थ विश्लेषण गरेरमात्र मतदान गर्न सक्नु पर्दछ ।