हेटौंडाः हेटौंडा अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । शल्यक्रिया गरी सन्तान जन्माएकी हेटौंडा–९ की ३१ बर्षीया सीतामाया मोक्तानको शनिबार दिउँसो मृत्यु भएको हो ।

बिहीबार अस्पताल भर्ना भएकी सीतामायाको शुक्रबार शल्यक्रिया गरी शिशु जन्मिएको थियो । सुत्केरी भएर अस्पतालमै भर्ना भई बसेकी सीतामाया शौचालय जाने क्रममा शनिबार दिउँसो लडेर घाइते भएकी थिइन् । हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार शल्यक्रिया गरी सन्तान जन्माएकी सुत्केरी महिला लडेर घाइते भएपछि एक्कासी गम्भीर भएको र उनको सघन उपचार कक्षमा राखेर उपचार गर्न खोज्दा पनि सम्भव नभएको हो । सीतालाई अस्पतालले शनिबार मृत घोषणा गरेको बताइएको छ ।

सीताका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । शल्यक्रियापछि आराम गरिरहेको विरामीलाई डाक्टर र नर्सले राम्रोसँग ध्यान दिएर उपचार नगर्दा मृत्यु भएको परिवारका सदस्यले आरोप लगाएका छन् ।