हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको वडा कमिटीले अधिकांश वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । केही वडामा भने एक भन्दा बढी उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बैशाख ५ गतेसम्ममा वडा कमिटीलाई नाम सिफारिस गर्न समयसीमा तोकिएअनुसार वडाले निर्णय गरेर पठाएको नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थबहादुर थापा मगरले जानकारी दिनुभयो ।
वडाले सिफारिस गरेर पठाएको नाममा उपमहानगर कमिटीले निर्णय गरेर प्रदेश कमिटीलाई निर्णय अनुमोदनका लागि पठाउने अध्यक्ष थापाले जानकारी दिनुभएको छ । वडा कमिटीको बैठकबाट १ नम्बर वडामा मानबहादुर लामा, २ नम्बर वडामा ईन्द्र रिजाल, ३ नम्बर वडामा रुपेश बर्तौला, ५ नम्बर वडामा भीमसेन लामिछाने, ६ नम्बर वडामा राजु गुरुङ, ७ नम्बर वडामा श्याम सुन्दर परियार, ८ नम्बर वडामा रामबहादुर दुलाल, १० नम्बर वडामा सन्तोष न्यौपाने, १४ नम्बर वडामा ज्ञानेन्द्र मोक्तान, १५ नम्बर वडामा लिलाकुमार घलान, १६ नम्बर वडामा विजय ढकाल, १८ नम्बर वडामा हिक्मत थापा मगर र १९ नम्बर वडामा प्रकाश थोकरको नाम सर्वसम्मत सिफारिस भएर आएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
यस्तै ४ नम्बर वडामा ऋषिराम पोखरेल र रविन्द्र देउला, ९ नम्बर वडामा प्रकाश पौडेल, गौतम केसी, ज्ञानेन्द्र लामिछाने र दीपेन्द्र पौडेल, ११ नम्बर वडामा भीम बहादुर श्रेष्ठ, कृष्ण प्रसाद खनाल र मधु कुमार थापा मगर, १२ नम्बर वडामा ललित घलान, भुवन खनाल र भगीरथ नेपाल, १७ नम्बर वडामा शंकर राउत, चुणामणि रुपाखेती र हिम न्यौपानेको नाम वडा अध्यक्षको उम्मेदवारको रुपमा सिफारिस गरिएको छ ।
वडा अध्यक्षसँगै वडा सदस्यहरु पनि अधिकांश सर्वसम्मत सिफारिस भएर आएको उल्लेख गर्नुहुँदै हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थ बहादुर थापा मगरले भन्नुभयो, ‘सिफारिस भएर आएका नामहरुमध्ये बढी आकांक्षी देखिएका वडामा नगर कमिटीले आवश्यक समन्वय गरेर अन्तिम नामावली तयार पार्नेछ । अहिले मुख्यगरी उपमहानगरको मेयर र उपमेयरमा गठबन्धनमा आवद्ध दलबीच सहमतिको कुरा महत्वपूर्ण छ ।’ गठबन्धन दलबीच सहमतिभएपछि आवश्यकताअनुसार वडामा समेत भागबण्डा हुने भएकोले अझै ‘पर्ख र हेर’ को स्थितिमा रहेको पनि अध्यक्ष थापाको भनाइ छ ।