हेटौंडाः नयाँ बर्षको अवसरमा पालुङ साहित्यिक साँझ २०७९ आयोजना गरिएको छ । स्थानीय कविहरू नवराज बर्तौला, भद्रध्वज गौतम, राम बर्तौला आँसु, अञ्जन प्रधान, शालिकराम बर्तौलाले रचना वाचन गर्नु भएको थियोे ।
चन्द्रनिगाहपुर रौतहटका वरिष्ठ साहित्यकार हरिकृष्ण काफ्लेको विशेष प्रस्तुती रहेको थियो । हरिकृष्ण काफ्ले मुक्तक विधामा ४ दशकदेखि सक्रिय हुनुहुन्छ । उहाँका ३ वटा कृति प्रकाशित छन् भने अर्को कृति प्रकाशनको तयारीमा छ । जीवन र जगतका विविध विषयलाई गम्भीर ढंगले दार्शनिक अभिव्यक्तिका साथ कलात्मक विचार प्रवाह गर्नसक्ने काफ्ले समकालीन समयका चर्चित मुक्तककार हुनुहुन्छ । उहाँको योगदानको मूल्यांकन गर्दै संस्थाले मुक्तक रत्न २०७९ समर्पण गरेको छ ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा स्थापना भएको पालुङ साहित्य परिषद्ले यसभन्दा अगाडि राष्ट्रिय गजल यात्रा, यात्रा साहित्य, साहित्य महोत्सव, पुस्तक प्रकाशन र प्रतियोगितात्मक कविता गोष्ठी लगायत अन्य विविध कार्यक्रम गरिसकेको छ । भद्रध्वज गौतमको संयोजन तथा संस्थाका अध्यक्ष बिर्खे अञ्जानले सञ्चालन गर्नुभएको पालुङ साहित्यिक साँझमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।