सांकेतिक तस्विर ।

हेटौंडाः यौन दूव्र्यवहारको आरोप लागेका तीनजना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्लाको पूर्वीक्षेत्र बागमती गाउँपालिका–८, फापरबारीस्थित जनता माविका विद्यार्थीमाथि यौनदूव्र्यवहारको आरोप लागेका लोकबहादुर बिक, रुद्रबहादुर बिक र हेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दूव्र्यवहार गर्दै आएको भनी अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । अभिभावकको जाहेरीपछि चैत २५ गते हेमबहादुर बिक प्रहरीको सम्पर्कमा आएका थिए । फरार रहेका लोकबहादुर बिक र रुद्रबहादुर बिक पनि शुक्रबार साँझ इलाका प्रहरी कार्यालय फापरबारीमा सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

इलाका प्रहरी कार्यालय फापरबारीले शुक्रबार साँझै दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको छ । शिक्षकले नै विद्यार्थीमाथि यौनजन्य दूव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीले विद्यालयमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए । केही दिन विद्यालयको पठनपाठन बन्द गरेर घटना सामान्य भएपछि अहिले विद्यालयमा पठनपाठन सुचारु भइसकेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।