किरियापुत्री भवनको सिलान्यास गरिँदै ।

हेटौंडाः हेटौंडा–४, कर्रामा किरियापुत्री भवन निर्माण सुरु गरिएको छ । नयाँ बर्षको पहिलो दिन बिहीबार बिहान किरियापुत्री भवनको सिलान्यास गरिएको हो ।

जग्गादाता गणेश कुमारी देउलाको प्रमुख आतिथ्य तथा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको उपस्थितिमा किरियापुत्री भवन सिलान्यास कार्यक्रम भएको हो । देउलाले आफ्ना पतिको स्मृतिमा किरियापुत्री भवनका लागि ७ धुर जग्गा दान गर्नुभएको हो । सिलान्यास कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, सामाजिक संस्कार समितिका अध्यक्ष अम्बर लामा, निर्माण उपभोक्ता समितिका अध्यक्ष अजीव भट्टराईको उपस्थिति रहेको थियो ।

किरियापुत्री भवन निर्माणका लागि बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले सांसद विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ । यस्तै श्रमिक माविले सप्ताह लगाउँदा किरियापुत्री भवनका लागि भनेर उपलब्ध गराएको १ लाख ५० हजार रुपैयाँ हाल व्याज आम्दाानी भएर २ लाख १८ हजार रुपैयाँ पुगेको उपभोक्ता समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभएको छ । ३ कोठे किरियापुत्री भवन निर्माण गरिने उल्लेख गर्नुहुँदै भट्टराईले नपुग रकम हेटौंडा उपमहानगरपालिकाबाट उपलब्ध हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।