नवसर्जक साहित्य चौतारीको केन्द्रीय कार्यालय उद्घाटन गरिँदै ।

हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको केन्द्रीय कार्यालय हेटौँडामा स्थापना गरिएको छ । चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता एवम् सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा नयाँ बर्षको पहिलो दिन बिहीबार हेटौंडा–७, न्यूरेनीमा कार्यालयको उद्घाटन गरिएको छ ।

नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रसन्ना चौलागाईँ, प्रमुख अतिथि निमेष निखिल तथा चौतारीका संरक्षक दीपक गौतमले संयुक्त रूपमा बोर्ड अनावरण तथा महासचिव समर्पण न्यौपानेलाई नेम प्लेट हस्तान्तरण गरेर कार्यालय उद्घाटन गरिएको हो । कार्यालय स्थापनाका लागि चौतारीका महासचिव समर्पण न्यौपानेका पिता एवम् सल्लाहकार एवम् पुरस्कार संस्थापक विष्णु न्यौपानेले आफ्नै निवासमा कोठा उपलब्ध गराउनुभएको छ ।

नवसर्जक साहित्य चौतारीको केन्द्रीय कार्यालय उद्घाटनपछि सामूहिक तस्वीर खिचाउँदै ।

कार्यक्रममा चौतारीका सल्लाहकारहरू रमेशमोहन अधिकारी, डिबी बर्ताैला, विष्णुप्रसाद न्यौपाने, अर्चना दाहाल, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, सेवानिवृत्त शिक्षक समाज मकवानपुरका सदस्य जनार्दन खनाल, प्राध्यापक जयराम गौतम, साहित्यकारहरू एसके निधन, सुनिल गौतम, धर्मराज स्याङ्तान, एन.एस. टेलिभिजनका प्रबन्धक महेन्द्र ओझालगायतको उपस्थिति रहेको थियो ।

२०७७ जेठ १ गतेदेखि साहित्यिक अभियन्ता दीपक गौतमले नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियान आरम्भ गरी २०७७ पुस ११ गते बालबालिकाको नेतृत्वमा कार्यसमिति गठन गरेको थियो । चौतारीले हालसम्म १५० भन्दा बढी भर्चुअल कार्यक्रम सम्पन्न गरिसकेको छ । देशका सात वटै प्रदेश तथा विदेशमा समेत शाखा विस्तारको अन्तिम चरणमा रहेको चौतारीले वैशाख पहिलो हप्ता देशभरका ७ वटै प्रदेशमा प्रादेशिक समिति घोषणा गर्ने तयारीसमेत गरेको छ ।