बिक्रम सम्वत्को नयाँवर्ष २०७९ सुरु भएको छ । नेपालमा सम्वत् नै परिवर्तन हुने भएकाले बैशाख १ गतेले नयाँवर्षको सुरुवात गर्दछ । अघिल्लो वर्षको विदाई हुँदै गर्दा नयाँबर्षले देशमा कस्तो परिवर्तन दिन सक्छ भन्ने महत्वपूर्ण पक्ष हो । वर्ष आफैंले केहि दिने होइन । शासक, प्रशासकदेखि आमनागरिकको सोचाई र चिन्तनमा परिवर्तन हुन आवश्यक हुन्छ । अघिल्लो वर्षमा गरेका सबै कमजोरीहरुको आत्मसमीक्षा गर्दै नयाँवर्षमा ती कमजोरी नदोहारिने प्रतिवद्धता र व्यवहारको खाँचो हुन्छ । वर्षको पहिलो दिन सबैले यस्ता प्रतिबद्धताहरु सार्वजनिक गर्दछन् तर व्यवहारमा आजसम्म लागू हुन सकेको छैन । जसले गर्दा वर्ष परिवर्तनले समाजमा कुनै परिवर्तन ल्याउन सकेको छैन ।
कोरोनाले थलिएको अघिल्लो वर्षले राजनीतिक रुपमा नयाँ कोर्ष लिएको देखिन्छ । नेकपाको दुई तिहाईको सरकार अन्तरपार्टी झगडाले विस्थापित हुनपुग्यो । सर्वोच्च अदालतले नेपालको संविधान २०७२ को सरकार सञ्चालनसम्बन्धी व्यवस्थाको निकै दुरगामी महत्व रहने गरि फैसला गरिदिएको छ । बहुमत प्राप्त दलले सरकार सञ्चालनमा ढंग नपु¥याउँदा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार निर्माण भएको छ । जुन पाँच दलीय गठबन्धनका कारण सबै निर्णय र कामहरुमा सहमति खोज्दा सरकारले गति लिन सकेको छैन । २०७८ साल नेपाली राजनीतिका लागि नयाँ प्रयोग भएको छ । नयाँवर्षले देशमा राजनीतिक स्थायित्व दिन सक्नु पर्दछ । यसका लागि नेतृत्व सच्चिन आवश्यक छ ।
कोरोनाले सबै क्षेत्र तहसनहस भएको छ । लगातार दुई वर्षसम्मको महामारी २०७८ को अन्त्यबाट भने निकै कमजोर बनेको छ । चैत्र मसान्तसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको घोषणा पूर्णरुपमा पुरा नभए पनि खोपको व्यवस्थापन भएको छ । धेरै स्वास्थ्य केन्द्रदेखि अस्पतालसम्मको भौतिक तथा गुणात्मक क्षमतामा विस्तार भएको छ । नयाँवर्षले यस क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सक्नु पर्दछ । आमनागरिकको स्वास्थ्य अधिकार पूर्ण सुरक्षित गर्नेतर्फ संघीयदेखि स्थानीय सरकारहरुले नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नु पर्दछ । सबै पक्षमा पुरानै निरन्तरतामा रमाउने हो भने नयाँवर्षको अनुभूति हुन सक्दैन ।
पुरानो वर्षमा शिक्षा र खेलकुदमा सुधार हुन सकेन । नियमित कार्यक्रमहरु समेत सञ्चालन भएनन् । विद्यार्थीहरुको अध्ययन अध्यापनमा खराब असर परेको छ । नयाँवर्षले ती कुरामा सुधार गरिनुपर्दछ । विशेषगरी राजनीतिक रुपमा नयाँ नेतृत्व पाउँदैछ । स्थानीय तहको निर्वाचनदेखि संघ र प्रदेशको चुनाव २०७९ सालमा नै हुँदैछन् । अघिल्ला वर्षहरुमा राखिने अपेक्षा आगामी दिनका लागि पनि उस्तै छन् । तर सुधारका लागि नेतृत्वले पहल गरेको देखिँदैन । अब आउने जनप्रतिनिधिहरुले हिजोको कमजोरीलाई सुधार गर्दै सुशासनको प्रत्याभूति दिन सक्नु पर्दछ । जनताको जीवन रक्षा, राष्ट्रियता, भौगोलिक अखण्डताजस्ता विषयमा सबै शक्तिबीच सहमति खोज्दै समृद्धिको यात्रामा देशलाई खघि बढाउन नयाँवर्ष प्रारम्भ विन्दु बन्न सकोस् । सबैमा शुभकामना ।